चार्टर उडान अब भैरहवाबाट मात्रै

जनता संवाददाता
२०७९ कार्तिक १४ गते, सोमबार

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन्।

गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने प्रयास स्वरूप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्य सबै चार्टर उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले आइतबारदेखि लागू गरेका हिउँदे उडान तालिका (विन्टर सेड्युल) अनुसार चार्टर उडानसँगै काठमाडौँबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन्। प्राधिरकणले विदेशबाट आउने चार्टर उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकेको थियो। गौतमबुद्ध विमानस्थलले सञ्चालन खर्चसमेत उठाउन नसकेपछि प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदेउडान तालिकाअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिएको छ।

आइतबारदेखि लागू भएको तालिकाअनुसार अन्तर्राष्ट्रिय उडान गर्दै आएको नेपाल वायुसेवा निगमले आइतबार पुरानै बर्खे उडान तालिका (समर सेड्युल) अनुसार उडानको तयारी गर्दा दिल्ली उडान रोकिएको छ। नयाँ तालिकाअनुसार निगमको दिल्ली उडान रोकिएपछि नेपालबाट दिल्ली जाने २५४ जना र दिल्लीबाट नेपाल आउने १९३ जना यात्रु अलपत्र परेका छन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार १० दिनअघि नै  निगम र हिमालय एयरलाइन्सलाई हिउँदे तालिकाअनुसार प्रति तीन उडान गर्दा एउटा उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो। तर निगमले पालना गर्नुपर्ने दिल्ली उडानको अनुमति नलिएपछि उडान रोकिएको हो।  उनले भने, “निगम र हिमालय दुवैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न लिएको तालिकामा तीनवटा बराबरको एक उडान भैरहवा सारिएको छ। प्राधिकरणसँग उडान अनुमति नै नलिई यात्रुलाई बोर्डिङ गराएपछि उडान रोकिएको हो।”

आइतबार दिउँसो १:४५ बजे  निगमको वाइडबडी ३३० को उडान नम्बर आरए–२१७ मार्फत  दिल्ली जाने ७० जनाको सुरक्षा जाँचसमेत भइसकेको थियो। उडान रोकेपछि यात्रु विचल्लीमा परेका छन्।

एकाएक उडान रोकिँदा दिल्ली ट्रान्जिट भएर तेस्रो मुलुक जाने यात्रु काठमाडौँमै अलपत्र परेका छन्। आइतबार दिउँसो १ बजेपछि दिल्ली सेक्टरमा कुनै उडान नरहेकाले निगमकै खर्चमा यात्रुलाई राजधानीका होटलमा राखिएको छ। दिल्लीबाट नेपाल आउने यात्रुलाई समेत निगमकै खर्चमा दिल्लीकै होटलमा राखिएको छ।

आइतबारको उडान रोकिएपछि निगमले अन्य टिकटसमेत बेचिसकेकाले थप समस्या हुने देखिएको छ। भैरहवामा दैनिक एक उडान गर्न तत्काल समस्या रहेको र केही समय माग गरिए पनि एकाएक उडान रोकेको निगमले जनाएको छ। निगमका  सहायक  प्रवक्ता गणेश तिमिल्सेनाले तत्कालै भैरहवामा उडान गर्ने अवस्था नरहेको जनाउँदै राष्ट्रिय ध्वजावाहकको उडान रोकेर विदेशी कम्पनीलाई पोस्ने कार्य भएको दाबी गरे।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन्।प्राधिकरणले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशतसहित एक वर्षसम्मका लागि ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षालगायतका शुल्कमा छुट दिएको छ। गौतमबुद्ध विमानस्थलमा हाल जजिरा एयरलाइन्सले मात्र साताको तीन उडान गरिरहेको छ।

गोरखापत्र दैनिकमा छापिएको

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते, सोमबार


Scroll to Top

Janata Media