राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक (पूर्णपाठसहित)

जनता संवाददाता
२०७९ कार्तिक १७ गते, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १० वर्षदेखि दलमा नरहेको व्यक्ति राष्ट्रपति रहने र राष्ट्रियसभाका अध्यक्ष पदेन उपराष्ट्रपति रहने शासकीय स्वरुपको परिकल्पना गरेको छ ।

बिहीबार सार्वजनिक वाचापत्रमा कुनै पनि दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक राष्ट्रपति बन्न पाउने व्यवस्था गर्ने स्वतन्त्र पार्टीले उल्लेख गरेको छ । राष्ट्रपति चयनका लागि वडाध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत निर्वाचन मण्डल बनाउने उसले योजना सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकारी प्रमुखको रुपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको परिकल्पना गरेको छ । मुख्यमन्त्रीले फरक लिंगका व्यक्तिलाई उपमुख्यमन्त्री र जिल्ला प्रमुख नियुक्त गर्नेछन् । जिल्ला प्रमुखले प्रदेश मन्त्रिपरिषदको सदस्य भएर काम गर्ने स्वतन्त्र पार्टीको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालको प्रदेश प्रमुख पद र जिल्ला समन्वय समिति खारेज गर्ने घोषण गरेको छ ।

रास्वपाले नेपालको उत्पादनलाई विश्वमा चिनाउन रातो र चन्द्र सूर्य ब्राण्ड अभियान सुरु गर्ने बताएको छ । यसका लागि पहिलो चरणमा १० अर्ब छुट्याउने घोषणा पनि गरेको छ ।

वार्षिक ५० लाख रुपैयाँसम्मको कारोबारमा शत प्रतिशत आयकर छुट दिने र २० लाख भन्दा कम कारोबार गर्ने उद्यमीले कर प्रणालीमा अद्यावधिक लेखापरीक्षण नगरी स्वघोषणा गरे पुग्ने व्यवस्था गर्ने पनि राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा उल्लेख छ ।

विदेशबाट फर्केका नेपालीका लागि वित्तीय संस्थाहरुले लगानीयोग्य रकमको ५ प्रतिशत छुट्याउनुपर्ने, र विदेशमा रहेका नेपालीका लागि प्रारम्भिक शेयरको १५ प्रतिशत अनिवार्य छुट्याउने व्यवस्था गर्ने पनि उसको घोषणा छ ।

पाँच वर्षभित्र पर्यटन क्षेत्रबाट वार्षिक ३ खर्ब आम्दानी गर्ने लक्ष्य राखेको छ, जुन कोरोना महामारीअघिको आम्दानीको ५ गुणा हो । त्यसका लागि नेपाल प्रवेश गर्ने प्रक्रिया सहज र सस्तो बनाउने, हरेक दूतावासमा ‘पर्यटन विङ’ राख्ने, ५ अर्ब रुपैयाँको साहसिक पर्यटन विकास कोष बनाउने घोषणा गरेको छ ।
नेपाल वायु सेवा निगमलाई ५ वर्षभित्र विश्वबजारमा स्थापित गराएर वार्षिक ५० अर्ब रुपैयाँ कमाउन सक्ने बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख मेट्रिक टन क्षमताको रासायनिक मल कारखाना स्थापना गर्ने पनि घोषणा गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका सबै वडामा खेलमैदान र पार्क निर्माण गर्ने, डन्डिबियो, गुच्चा, खोपी, पिटुजस्ता खेलको अन्तर्राष्ट्रियकरण गर्न अध्ययन र अभ्यास गर्ने पनि घोषणा गरेको छ ।

हेर्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र :-

bacha patra swatantra party

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते, बिहीबार


Scroll to Top

Janata Media