टी–२० विश्वकप आयोजक अमेरिकाको विजयी सुरुवात

जनता संवाददाता
२०८१ जेष्ठ २० गते, आईतवार

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो ।टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले १७।४ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।अमेरिकामा क्रिकेट विश्वकपको इतिहासकै पहिलो खेल खेलिएको हो । अमेरिकामा खेलिएको विश्वकपको यो ऐतिहासिक खेलमै कुल तीन सय ९१ रन बन्यो । अमेरिकाको जितमा एन्ड्रिज गौस र एरोन जोन्सले महत्त्वपूर्ण योगदान गरे । दुवै ओपनरलाई सस्तैमा गुमाएको अमेरिकाका लागि गौसले ६५ रन बनाए । उनले केवल ४६ बलमा तीन छक्का र सात चौका प्रहार गरे । एरोन जोन्सले पनि टोलीका लागि अविजित अविजित ९४ रनको योगदान गरे । उनले ४० बलको सामना गरी १० छक्का र चार चौका हिर्काए ।

गौस र एरोनले एक सय ३१ रनको साझेदारी गरे । अमेरिकाले खाता खोल्नुअघि नै आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान स्टिभन टेलर शून्य रनमै आउट भएका थिए । अर्का ओपनर मोनांक पटेलले भने १६ रन बनाए ।

दोस्रो विकेटका रूपमा कप्तान मोनांक पटेललाई गुमाउँदा घरेलु टोली अमेरिकाले केवल ४२ रन बनाएको थियो । त्यसपछि एन्ड्रिज गौस र एरोन जोन्सले टोलीको स्कोरलाई एक सय ७३ रनको बलियो स्थितिसम्म पुर्याएका थिए ।

कोरी एन्डर्सन तीन रनमा अविजित रहे । अमेरिकाले अतिरिक्त रूपमा पनि १९ रन पाएको थियो । क्यानडाका बलर निखिल दत्त, डिलोन हेलिगर र कलिम सानाले एक–एक विकेट लिए ।

त्यसअघि आफ्नो चिर प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध क्यानडाले गतिलो ब्याटिङ गरेको थियो । क्यानडाका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । ओपनर नवनित धालिवालले ६१ रन बनाएका थिए । उनले केवल ४४ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे ।

चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तन पनि टोलीको खातामा ५१ रन थपे । उनले केवल ३१ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । विकेटकिपर ब्याट्सम्यान श्रेयस मोभाले पनि अविजित ३२ रन बनाए । उनले १६ बलमा दुई छक्का र दुई चौका प्रहार गरे ।

ओपनर ब्याट्सम्यान एरोन जोन्सनले पनि टोलीको खातामा २३ रन थपेका थिए । क्यानडाले अतिरिक्त रूपमा पनि १० रन पाएको थियो । अमेरिकाका बलर कोरी एन्डर्सन, हरमित सिंह र अली खानले एक–एक विकेट हात पारे ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते, आईतवार


Scroll to Top

Janata Media