सुरक्षा निकायले प्रारम्भिक चरणमा तयार गरेको आन्तरिक रिपाेर्ट अनुसार, याे चुनावमा कांग्रेस पहिलो दल हुनेछ । त्यस्तै, एमाले दाेस्राे र माओवादी केन्द्र तेस्राे बन्ने छ ।
नेपाल प्रहरीको विशेष ब्युरो, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो मात्र होइन, नेपाली सेनाको इन्टेलिजेन्स विभाग (डीएमआई) ले पनि दलहरूको चुनावी नतिजा आकलनको प्रारम्भिक अध्ययन सकेका छन् । स्रोतले दिएको जानकारी अनुसार, अन्तिम चरणको आकलन प्रतिवेदन भने २६-२७ कात्तिकसम्म तयार हुनेछ ।
उक्त रिपोर्ट अहिलेको भन्दा परिस्कृत रूपमा आउने भएकाले बढ्ता विश्वासिलो हुनेछ । उनीहरूले प्रारम्भिक चरणको प्रतिवेदन तयार गर्ने बेलामा भने दलहरूका चुनावी रणनीतिका विभिन्न चरणमा रहेको र चुनावी माहौल कस्तो बन्छ ? भन्ने प्रस्ट खाका आइसकेको थिएन ।
स्रोतका अनुसार ब्युरोहरूलाई केन्द्रले हरेक जिल्ला प्रमुखबाट राजनीतिक पार्टीको लोकप्रियता र उम्मेदवारको माहौललाई आधार मानेर आन्तरिक रिपोर्ट माग गरेको थियो । ब्युरो स्रोतका अनुसार, प्रहरीका जिल्ला कमाण्डरहरूले उम्मेदवारको लोकप्रियता, पृष्ठभूमि, क्षमता र केही मतदाताहरूसँग पनि बुझेर रिपोर्ट बनाएको दाबी छ ।
यस्तो छ सुरक्षा निकायको प्रारम्भिक आन्तरिक प्रतिवेदन
४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्येक्ष चुनावबारे चारवटै सुरक्षा निकायले प्रारम्भिक चरणमा तयार गरेको आन्तरिक रिपाेर्ट अनुसार, याे चुनावमा कांग्रेस पहिलो दल हुनेछ । त्यस्तै, एमाले दाेस्राे र माओवादी केन्द्र तेस्राे बन्ने छ । उनीहरूले सिट संख्यासमेतको विश्लेषण गरेर प्रतिवेदन तयार पारिएको छ ।
स्रोतका अनुसार, प्रहरीको विशेष ब्युरोको प्रतिवेदन र गुप्तचरको प्रतिवेदनमा केही समानता छ । गुप्तचर विभाग स्रोतका अनुसार, कांग्रेसले ९० निवार्चन क्षेत्रमध्ये न्यूनतम ६० र बढीमा ७२ सिट जित्नेछ । प्रहरीको विशेष ब्युरोको आन्तरिक प्रतिवेदनले पनि कांग्रेसले ६५ देखि ७० को आसपासमा जित्ने देखाएको छ । ब्युरोको रिपोर्ट अनुसार दोस्रो हुने दल एमालेले ३५ देखि ४० को हाराहारीमा जित्ने छ । त्यस्तै, माओवादी केन्द्रको २५ देखि ३० र एकीकृत समाजवादीले ६ सिट जित्ने आन्तरिक प्रतिवेदन प्रहरीको विशेष ब्युरो र गुप्तचर विभागले तयार पारेका छन् ।
स्रोतले भन्यो, ‘हाम्रो यो प्रारम्भिक रिपोर्ट हो । कात्तिक २८ सम्म फेरि जिल्लाको अवस्थाबारे प्रतिवेदन मागेका छौँ । त्यसपछि अझ विश्वासिलो प्रतिवेदन आउँछ । यो पहिलो चरणको प्रतिवेदन हो ।‘
सुरक्षा निकायको प्रतिवेदनसँग मिल्दोजुल्दो दाबी दलका नेताहरूले पनि गरेका छन् । एमाले स्रोतका अनुसार, एमालेको आन्तरिक अध्ययनमा करिब ३४ सिट जित्ने आकलन गरिएको छ । पार्टी र मदन भण्डारी फाउण्डेसनबाट पनि एमालेले अध्ययन गराएको थियो । त्यही कारण एमालेले मत तान्नकै लागि विभिन्न रणनीति अपनाइरहेको छ ।
त्यसो त, माओवादीका उपमहासचिव वर्षमान पुनले पनि एक टेलिभिजन अन्तर्वार्तामा कांग्रेसले ६५ देखि ७०, माअोवादीले ३० देखि ३५ र एकीकृत समाजवादीले १० देखि १५ सिट जित्ने आकलन सुनाएका थिए । चुनाव नजिकिएसँगै ठूला राजनीतिक दलका नेताहरू आ-आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्दै चुनावी प्रचारमा होमिएका छन् । मुख्यतय: २०७४ को चुनावमा पहिलो पार्टी बनेको एमाले यो पटक एक्लै बहुमत ल्याउने दाबी गरिरहेको छ ।
एमालेले प्रत्यक्षतर्फको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ४१ क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ । एमालेले बाँकी सिटमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको छ । २०७४ को चुनावमा माओवादीसँगको गठबन्धन गरेर एमाले प्रत्यक्षतर्फ ८० सिट जित हात पारेको थियो । एमालेसँगको गठबन्धन गरेको माओवादीले ३६ सिट जितेको थियो ।
अघिल्लो चुनवामा एक सय ५५ ठाउँमा उम्मेदवारी दिएको कांग्रेसले २३ सिटमा सीमित भएको थियो । समानुपातिकसहित एमाले १ सय २१ सिट जित्दै पहिलो, कांग्रेस ६३ सिट जितेर दाेस्राे र माओवादी केन्द्र ५३ सिट जितेर तेस्रो पार्टी बनेको थियो ।