जनता मिडियाले गर्यो, हुम्लाको सिमकोट गाउँपालिकासँग अन्तरक्रिया

जनता संवाददाता
२०७९ मंसिर १३ गते, मंगलवार

हुम्ला । जनता मिडियाले हुम्लाको सिमकोट गाउँपालिकासँग अन्तरक्रिया गरेको छ । सदरमुकाममा रहेको गाउँपालिकाको कार्यालयमा जनता मिडियाको आयोजना र सिमकोट गाउँपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनता मिडियाका सञ्चालक चक्र दानीको सभापतित्वमा र सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सोहि गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया, निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, १ देखि ८ सम्मका वडाअध्यक्षहरु र अन्य कार्यपालिकाका सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सिमकोट गाउँपालिकामा विकास गर्न धेरैभन्दा धेरै पक्षसँग सहकार्य र सम्झौता गरेको बताए । उनले भने, ‘बेरोजगार युवाहरुलाई व्यवस्थित गर्न युवा परिषद् सँग साझेदारी गरेर काम सुरु गरिसकेका छौ । त्यस्तै रैथाने बालीहरुको संरक्षण, बजारीकरण र व्यवस्थापन गर्न खाद्य व्यवस्था र व्यापार कम्पनी लिमिटेड सँग सम्झौता गरेका छौँ ।’

उनले थपे, ‘उपभोक्ता समिति दर्ता गरेर मात्र काम सञ्चालन गर्ने प्रावधान ल्याएका छौँ । दर्ता भएका उपभोक्ता मार्फत मात्र विकास निर्माणका कामहरु अगाडी बढाउने गरेका छौँ । कर्मचारी नियुक्तिका सम्बन्धमा पहिले नै पूर्ण भएकाले यसमा हामीले केहि पनि प्रक्रिया अगाडी बढाईसकेका छैनौँ ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकायाले महिला सशक्तीकरणका लागि विशेष रुपमा पहल गरिरहेको र स्वयम् आफैँ पनि महिलालाई अगाडी बढाउन लागिरहेको बताईन् । उनले भनिन्, ‘हुन त भन्दैमा सशक्तीकरण त हुँदैन तर महिला सशक्तीकरण गर्न कुन आवाजहरुलाई कुन निकाय सम्म पुर्याउने भन्ने सोचेर मात्र कुराहरु उठाउने छु । महिलाका लागि अधिकार कसरी प्रत्यायोजन गराउने महिलाहरुमा हुने हिंसा कसरी नियन्त्रण गर्ने भनेर दृढताका साथ म लागेको छु ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले सबै खालका काममा सहज होला भनेर गाउँपालिकाकै निर्णयमा अन्य कसैको सहयोग नलिई पालिकाका प्रत्येक वडामा मोटर बाटो पुर्याएको बताए । उनले भने, ‘सबै काममा सहज होस् भनेर गाउँपालिकामा आउने सामाजिक अनुदानलाई उपयोग गरेर सबै वडामा बाटो पुर्याएका छौँ । विकासको कुरामा हेर्दा हुम्लाका अन्य गाउँपालिका भन्दा सिमकोट गाउँपालिकामा विकास भएको छ ।’

उनले थपे, सदरमुकाम भएकै कारणले पनि सिमकोट गाउँपालिकाले धेरै नै माथि फड्को मारिसकेको छ । हाम्रो टिम सिमकोटलाई नमुना गाउँपालिका बनाउन लागिसकेको छ । अब छिट्टै विकास भएको अनुभूति गर्न सक्नु हुनेछ ।

कार्यक्रमका अतिथि एवम् १ देखि ८ सम्मका वडा अध्यक्षहरुले पनि आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले निर्वाचित भएदेखि गरेका कामहरुको विवरण प्रस्तुत गरेका थिए । उनीहरुले आ-आफ्नो वडामा आवश्यक पूर्वाधारको योजना प्रस्तुत गरेका थिए । उनीहरुले आ-आफ्नो क्षेत्रका समस्या गाउँपालिका अध्यक्ष समक्ष राखेका थिए ।

कार्यक्रमका सभापति एवम् जनता मिडियाका सञ्चालक चक्र दानीले जनता मिडिया अहिले स्थानीय तहसँग जोडिन आएको र पुन केहि विशेष कार्ययोजनाका साथ आउने बताए । कार्यक्रममा सहजीकरणको भूमिका जनता मिडिया संवाददाता नन्दकृष्ण थापा र अंगराज परियारले निर्वाह गरेका थिए ।

यस्तै गरी क्रमश: हुम्लाका अन्य गाउँपालिकामा पनि अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : २०७९ मंसिर १३ गते, मंगलवार


Scroll to Top

Janata Media