काम सकिनै लाग्दा साँखु-थली सडकखण्डमा राजनीति गर्न खोजियो : मेयर कार्की

जनता संवाददाता
२०७९ मंसिर २९ गते, बिहीबार

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले साँखु–थली सडकखण्डमा राप्रपाले राजनीति गर्न खोजेको आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनले निर्माण सम्पन्न हुनै लाग्दा काठमाडौं २ बाट पारजित राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलले अवरोध गरेको बताएका हुन् । वषौँदेखि सडक नबनेको भन्दै थली सडकमा स्थानीयले अवरोध गरिरहेका छन्।

मेयर कार्कीका अनुसार काम सम्पन्न हुने गरी काम भइरहेको समयमा पोखरेलको नेतृत्वमा अवरोध भइरहेको छ।

उनले पोखरेलले सडककोे विषयलाई लिएर अनावश्यक भ्रम फैलाएर स्थानीयलाई अवरोध गर्न लगाएको र अनावश्यक रूपमा वडा कार्यालय र नगरपालिकामा तालाबन्दी गरेको आरोप लगाए। ‘कतिपय आयोजना संघ र प्रदेशबाट ठेक्का लागेका कामहरू पूरा भएको छैन।

‘ठेकदारलाई काम सम्पन्न गर्न दबाब दिएपछि राजनीतीकरण गरिएको छ,’ उनले भने ,‘ कुन्ती पोखरेलले ‘प्रोभोक’ गरेर अवरोध भएकाे हो। तालाबन्दी गर्नुभन्दा छलफल गर्न बोलाउँदा उहाँ सडकबाट समाधान गर्छु भनेर लाग्नुभयो। यो संघीय ठेक्का हो, नगरसँग समन्वय गर्नुबाहेक अर्को उपाय छैन। बुझिलिन अनुरोध गर्छु। ’

कार्यक्रममा सडकखण्डमा पर्ने घर भत्काउन मुआब्जा लिएकाहरू पनि धर्नामा बसेको जानकारी दिइएको थियो। ‘हामीले मुआब्जा बढाएर दिएका छौँ। मात्र तीन घरले मुआब्जा लिनुभएको छैन। उहाँले भ्रम फैलाउनुभयो। घरको पैसा मुआब्जा लिएर उहाँहरू सडकमा धान रोप्न निस्किनुभयो।’

प्रकाशित मिति : २०७९ मंसिर २९ गते, बिहीबार


Scroll to Top

Janata Media