देउवालाई गगनको आग्रह-उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुस्

जनता संवाददाता
२०७९ पुष ५ गते, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसको भविष्यका लागि उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका हुन् ।

‘आदरणीय सभापति देउवाले उम्मेदवारी फिर्ता लिने कुरा ऐतिहासिक हुन्छ,’ उनले भने, ‘सँगसँगै कांग्रेसको भविष्यका निम्ति वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहलाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्छु ।’

थापाले सभापति देउवाले उम्मेदवारी फिर्ता नलिए पनि सबै मतदाताले आफूलाई मत हाल्ने विश्वास रहेको बताए । उनले परिवर्तनको बेगलाई अगाडि बढाउनका लागि आफूले उम्मेदवारी दिएको पनि बताए ।

थापाले परिवर्तनका लागि पाँच वर्षअघि आफू प्रकाशमान सिंहको पक्षमा उभिएको पनि बताए । ‘५ वर्ष पहिले प्रकाशमानको पक्षमा उभिएको थिएँ । अहिले उहाँले विचार गर्नुपर्छ,’ उनले भने

प्रकाशित मिति : २०७९ पुष ५ गते, मंगलवार


Scroll to Top

Janata Media