केबलकार परियोजनाविरुद्ध मुन्धुमी कला प्रदर्शन

जनता संवाददाता
२०८१ भाद्र २६ गते, बुधबार

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाविरुद्ध मुन्धुमी आदिवासी कला प्रदर्शन गरिएको छ । पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिको अगुवाइमा सदरमुकाम फुङ्लिङमा बुधबार प्रदर्शन गरिएको हो ।

पाथीभरामा केबलकार बनाउन नहुने र केबलकार परियोजना खारेज गर्नुपर्ने माग गर्दै मुन्धुमी (धार्मिक दर्शन) चित्रकलासहित प्रदर्शन गरिएको हो । पाथीभरा क्षेत्रमै पुगेर कलाकर्मीले बनाएका आर्टिफिसियल (काल्पनिक) चित्र प्रदर्शनसँगै पहिचान पक्षधर समूहले केबलकारविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन् ।

फुङ्लिङ बजारभित्र प्रदर्शनपछि वीरेन्द्र चौकमा पुगेर कोणसभा गरिएको थियो । कोणसभालाई सङ्घर्ष समितिका पदाधिकारी, पहिचानवादी नेतृत्व लगायतले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा आदिवासी लिम्बू समुदायको ऐतिहासिक धार्मिकस्थल मुक्कुम्लुङको अतिक्रमण गरी केबलकार बन्न नहुने वक्ताहरुले बताएका छन् ।

उनीहरुले केबलकार परियोजना खारेज हुनुपर्ने माग राख्दै जबरजस्ती गरेमा जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिएका छन् । मुन्धुमी चित्रकला भने किराँत याक्थुङ चुम्लुङको अगुवाइमा आउनुभएका कलाकर्मी सुवास तामाङ, सपना नेपाली, मनरा प्रजापति, दीक्षा राई, सोनाम चाम्लिङलगायतले मुन्धुमी चित्र बनाएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते, बुधबार


Scroll to Top

Janata Media