धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।
आइतबार बिहान प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको हो ।
पुस्तान्तरणको माग गर्दै दलको नेतामा दाबी गरेका केन्द्रीय सदस्य समेत रहेका ओमबिक्रम भाटले अन्तिम समयमा भने भट्टलाई समर्थन गरेका हुन् ।
प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले भट्ट सर्वसम्मत रुपमा दलको नेतामा चयन भएको जानकारी दिए । ‘आज बिहान बसेको संसदीय दलको बैठकले दलको नेतामा कमरेड खगराज भट्टलाई सर्वसम्मत रुपले चयन गरेको छ । अर्का दाबेदार कमरेड ओमबिक्रम भाट पनि समर्थन गर्नुभएको छ,’ धामीले भने ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले पनि दलको नेतामा भट्टलाई नै सर्वसम्मत चयन गर्न उपयुक्त हुने सुझाव दिएको थियो ।
शनिबार बसेको दलको बैठक बसे पनि दुवै नेताले दाबी नछाड्दा सहमति हुन सकेको थिएन ।
दलको नेतामा चयन भएका भट्ट डेडेल्धुराको प्रदेशसभा ९क० बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।
मुख्यमन्त्री बनाउने समझदारीअनुसार नै आफू प्रदेशसभाको चुनाव लडेको बताउने गरेका भट्ट दलको नेता चयन भएसँगै उक्त बाटो पनि खुलेको छ ।