मुद्रा कोषको चेतावनी : विश्वका एक तिहाइ देश मन्दीमा जाँदै

जनता संवाददाता
२०७९ पुष २० गते, बुधबार

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वका एक तिहाइ देशहरु आर्थिक मन्दीमा पर्ने चेतावनी दिएको छ।

आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्वका प्रमुख अर्थतन्त्र भएका देश सुस्ताउँदा अघिल्लो वर्षको तुलनामा २०२३ झन् ‘कठिन’हुने बताएकी हुन्। जर्जिएभाले अमेरिका, यूरोप र चीनको अर्थतन्त्र सुस्त देखिएको बताइन्।

आउँदो मन्दीको मुख्य कारण रुस-युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति, उच्च ब्याज दर हो। यसबाहेक चीनमा फैलिएको कोभिड प्रकोपले विश्वव्यापी अर्थतन्त्रलाई नै धक्का दिएको छ।

मन्दीको पूर्व संकेतलाई मध्यनजर गर्दै अक्टोबरमा आइएमएफले २०२३ को लागि विश्वव्यापी आर्थिक वृद्धिदरको लक्ष्य कटौती गरेको थियो।सुस्त अर्थतन्त्रका कारण विश्वव्यापी आर्थिक वृद्धिदर २०२३ मा २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण आइएमएफले गरेको छ।

जुन विश्वव्यापी वित्तीय संकट र कोभिड-१९ महामारीलाई पन्छाउने हो भने २००१ पछिको सबैभन्दा कमजोर वृद्धिदर हो। आर्थिक वृद्धि सन् २०२२ मा ३.२ प्रतिशतमा ओर्लिएको हो, जुन २०२१ मा ६ प्रतिशत थियो।

‘हामी विश्वका एक तिहाइ देशहरु मन्दीमा पर्ने प्रक्षेपण गर्दैछौं,’ आइएमएफकी प्रबन्ध निर्देशक जर्जिएभाले सीबीएसको फेस द नेसनु कार्यक्रममा भनेकी हुन्। मन्दीमा नभएका मुलुकका करोडौं मानिसले मन्दी जस्तो अवस्था महसुस गर्ने उनको टिप्पणी छ।

आइएमएफले रुस-युक्रेन युद्ध र निरन्तर बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले बढाएको ब्याजदरका कारण आर्थिक वृद्धिदर घटाएको थियो।

जसलगत्तै चीनले आफ्नो जिरो-कोभिड पोलिसी खारेज गरेको हो। र, आफ्नो अर्थव्यवस्था पुनःखोल्न थालेको छ। यद्यपि चीनमा कोरोना भाइरस संक्रमण द्रुत गतिमा फैलिने क्रम जारी छ। जर्जिएभाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनले सन् २०२३ मा कठिन सुरुवातको सामना गर्ने चेतावनी समेत दिएकी छन्।

‘आगामी केही महिना चीनको लागि कठिन हुनेछ र चिनियाँ वृद्धिमा प्रभाव नकारात्मक हुनेछ। जसले गर्दा विश्वव्यापी आर्थिक वृद्धिमा प्रभाव नकारात्मक हुनेछ,’ उनले भनिन्। जर्जिएभाको टिप्पणी अनुसार विश्वभरका मानिसहरूका लागि चिन्ताजनक अवस्था हुनेछ। झन् २०२२ मा कठिन अवस्थासँग जुधेका एसियाली देशहरुलाई थप प्रभाव पर्ने उनले बताइन्।

एसियाली मुलुकहरुमा युक्रेनको युद्धका कारण मुद्रास्फीति निरन्तर बढिरहेको छ। र, उच्च ब्याजदरले यस क्षेत्रका घरपरिवार र व्यापारलाई पनि असर गरेको अवस्था छ।

तथ्यांक अनुसार, सन् २०२२ को अन्त्यसम्म चिनियाँ अर्थतन्त्र कमजोर भएको देखिएको छ। डिसेम्बरको पर्चेजिङ म्यानेजरर्स इन्डेक्स ९पीएमआइ० ले चीनको औद्योगिक गतिविधि पुनस् घट्दै गएको देखाएको छ। कोरोना संक्रमण फैलिएको कारणले झन्डै तीन वर्षयता सबैभन्दा छिटो दरमा चीनका औद्योगिक गरिविधिहरू साँघुरिँदै गएका छन्।

चीनका १०० सहरमा घरको मूल्य लगातार छैठौं महिना घटेको छ। चीनको सबैभन्दा ठूलो स्वतन्त्र सम्पत्ति अनुसन्धान फर्म, चाइना इन्डेक्स एकेडेमीले गरेको सर्वेक्षणले मूल्य घटेको देखाएको छ।

अमेरिकामा आएको मन्दीको कारण पनि चीन, थाइल्याण्ड र भियतनाम लगायत एसियाली मुलुकहरूमा बनाइएका उत्पादनहरूको माग कम छ। उच्च ब्याजदरले कर्जा पनि महँगो बनाएको छ। जसले गर्दा कम्पनीहरूले आफ्नो व्यवसाय विस्तार गर्न लगानी नगर्ने निर्णय पनि गर्न सक्छन्।

आर्थिक वृद्धिको कमीले लगानीकर्ताहरूलाई अर्थतन्त्रबाट पैसा निकाल्न उत्प्रेरित गर्ने सम्भावना पनि उत्तिकै हुन्छ। त्यसैले विशेष गरी गरिब मुलुकहरुसँग खाद्य र ऊर्जा जस्ता महत्त्वपूर्ण आयातहरूको लागि भुक्तानी गर्न कम नगद छ।

यस्तो मन्दीमा सम्बन्धित मुलुकको मुद्राको मूल्य अवमूल्यन भएर जाने पनि जटिल अवस्था निर्माण हुने अनुमान छ। बढी समृद्ध अर्थतन्त्रविरुद्ध सानाले मूल्य गुमाउँछन्। ऋणमा उच्च ब्याजदरको प्रभावले सरकारीस्तरमा पनि अर्थतन्त्रलाई असर गर्छ। विशेष गरी उदीयमान अर्थतन्त्र भएका मुलुकले आफ्नो ऋण तिर्न संघर्ष गर्न सक्छन्।

दशकौंदेखि एशिया(प्रशान्तका मुलुकहरु प्रमुख व्यापार साझेदार र संकटको समयमा आर्थिक सहयोगका लागि चीनमा निर्भर पर्ने गरेका छन्।अहिले पनि एसियाली अर्थतन्त्र चीनले कोभिड महामारी सम्हाल्न नसकेको प्रभावको सामना गरिरहेका छन्।

जुन बेइजिङले जिरो-कोभिड पोलिसी अन्त्य लगत्तै ट्रयाकमा फर्कने प्रक्षेपण छ। टेस्ला कार र एप्पल आइफोन जस्ता उत्पादनहरूको व्यवसाय पनि पुरागमन हुने बताइएको छ। तर तेल र फलाम जस्ता वस्तुहरूको माग बढेलगत्तै मुद्रास्फीति चरम सीमामा पुग्ने सम्भावना छ। बिबिसी

प्रकाशित मिति : २०७९ पुष २० गते, बुधबार


Scroll to Top

Janata Media