सिन्धुपाल्चोकको गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

जनता संवाददाता
२०७९ पुष २२ गते, शुक्रबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ ।

मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडीबुटीका हिसाबले पनि गुफाडाँडा भूःस्वर्गजस्तै छ ।

प्रथम राष्ट्रिय जलवायु सम्मेलन पूर्व चौँरीखर्क मात्रै रहेको ठाउँमा जलवायु सम्मेलनपश्चात पर्यटकीय गन्तव्यको विकाससँगै गुफाडाँडा जलवायु उद्यान घुम्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको वातावरणमा रमाउन पाउँदा खुसी लागेको काभ्रेपलाञ्चोकका आशाकाजी श्रेष्ठले बताए ।

चौताराबाट आएकी बिन्दु सापकोटा दोस्रो पटक घुम्न आएको बताउँछन् । लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण गुफाडाँडा भनिएको किंवदन्ती रहेको पछिल्लो समय आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताए ।

विभिन्न सङ्घसंस्थाको बैठक, गोष्ठीलगायतका कार्यक्रमसमेत गुफाडाँडा जलवायु उद्यानमा आयोजना हुन थालेपछि चहलपहल बढेको छ । गुफाडाँडाको प्रचार–प्रसारसँगै स्थानीयको आयआर्जनमा पनि टेवा पुगेको मेलम्ची नगरपालिका–९ का युवराज पुरी बताउँछन् ।

पर्यटक पर्खाइमा बसेको डाँडामा पुग्न भने बर्खायाममा सकस हुने गरेको छ । यहाँ होटल तथा होमस्टेको अभाव छ । पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर यो क्षेत्रमा चिया बगान, वनभोजस्थल, भ्यूटावर, रिसोर्ट, खेलमैदान, संस्कृति झल्किने सङ्ग्रहालयलगायत स्थापना गर्ने उद्देश्य रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको भनाइ छ । रासस

प्रकाशित मिति : २०७९ पुष २२ गते, शुक्रबार


Scroll to Top

Janata Media