कांग्रेस निकट संगठनद्धारा अदानचुलीको स्वास्थ्य शाखा मातहतका सम्पूर्ण कार्यालयमा बन्द

जनता संवाददाता
२०७९ पुष २२ गते, शुक्रबार

हुम्ला । नेपाली कांग्रेस निकट कर्मचारी र भातृसंगठनले हुम्लाको अदानचुली गाउँपालिकाको मातहतमा रहेका स्वास्थ्य शाखा र ईलाका स्वास्थ्य चौकी बन्द गरेका छन् ।

विशेषगरी गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहका सल्लाहकार जीवन बुढाको नेतृत्वमा तालाबन्दि गरेको बताईएको छ । यसैगरी भातृ संगठनमा आवद्ध सबैजनाका सक्रियता रहेको छ । हिजो मात्रै अदानचुलीका जनप्रतिनिधिहरुले अनाधिकृत रुपमा रकम निकासा भएको भन्दै त्यसको सत्य तथ्य विवरण नआउन्जेलसम्म प्रशासनिक कामकाज बन्द गरेका थिए ।

आज त्यसको काउन्टरमा स्वास्थ्य शाखा र ईलाका स्वास्थ्य चौकीमा तालाबन्दि गरिएको हो । यसको प्रत्यक्ष असर सर्वसाधारण जनतामा परेको छ ।

सुर्खेत बस्दै आएका अदानचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई हाजिरी गर्न रोक
सुर्खेत बसेर हुम्लाको गाउँपालिका चलाएका अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई गाउँपालिकामा हाजिरी गर्न रोकिएको छ । शाही र थापा चार महिनापछि बिहीबार गाउँपालिका कार्यालय पुगेका थिए ।
गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, ३ नम्बर वडाका अध्यक्ष डिलबहादुर फडेरा, ४ का अध्यक्ष मनऋषि पाण्डेलगायतले हाजिर गर्न रोकेका हुन् ।

तीन करोड रुपैयाँ हिनामिनाको टुंगो नलागेसम्म हाजिर गर्न नदिने भन्दै उनीहरूले शाही र थापालाई कार्यालयबाट बाहिर निकालेको एक कर्मचारीले जानकारी दिए ।

गत साउनमा निमित्त अधिकृत टकदत्त प्याकुरेल भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट शाहीलाई निमित्त अधिकृत नियुक्त गराएका थिए ।

त्यसलगत्तै गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले कार्यपालिकाको बैठकबाट हंश महतारालाई निमित्त अधिकृतमा नियुक्ति गराएका थिए । त्यसयता शाही सुर्खेत बसेर कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका थिए ।

एउटै पालिकामा दुईजना कार्यकारी अधिकृत रहेकोबारे समाचार प्रकाशित भएपछि पालिकामा भइरहेको बदमासी बाहिर आएको थियो ।

त्यसपछि उपाध्यक्ष रोकायाले अध्यक्ष सिंह र शाहीले गाउँपालिका अपहरण परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा उजुरी दिएपछि शाही बिहीबार पालिका कार्यालय फर्किएका हुन् ।

अध्यक्ष सिंह, निमित्त कार्यकारी अधिकृत शाही र लेखापाल थापामाथि सुर्खेत बसेर गाउँपालिकाको तीन करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग गरेको केही जनप्रतिनिधिले आरोप लगाएका छन् ।

यसैबीच, माओवादीका कार्यकताले अदानचुली गाउँपालिकामा तालाबन्दी गरेका छन् । निमित्त अधिकृत, लेखापाल, प्रशासन इन्जिनियर र सूचना अधिकृत शाखामा तालाबन्दी भएको हो ।

प्रकाशित मिति : २०७९ पुष २२ गते, शुक्रबार


Scroll to Top

Janata Media