सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलागौँः अध्यक्ष ओली

जनता संवाददाता
२०७९ पुष २५ गते, सोमबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्। सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले देशमा राजश्व उपयुक्त ढंगले उठ्न नसकेको र धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको बताए। उनले अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको बताए। उनले वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा रहेको, आयात गर्ने स्थिति नरहेको र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुको साथै उद्योगहरु बन्द भइरहेको बताए।

अध्यक्ष ओलीले अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यक्ता रहेको बताए। उनले भने, ‘अर्थतन्त्र बढो गम्भीर अवस्थामा छ। धेरै गम्भीर अवस्थामा। राजश्व उपयुक्त ढंगले उठिरहेको छैन। धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको छ। पहिला यस्तो भएको थिएन। ऋणात्मक भएको छ। यो गम्भीर कुरा हो। वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो छ, आयात गर्ने स्थिति छैन। निर्यात गर्ने वस्तुको उत्पादन घटेको छ, उद्योगहरु बन्द भइरहेका छन्। यस्तो अवस्थामा महंगी बढ्दो छ, जनजीवन कष्टकर छ। निर्वाचनपछि प्रतिनिधि सभा यी सबै समस्याहरुको सकारात्मक समाधान खोज्नुपर्ने र यस्ता समस्याबाट रोकेर अघि बढ्नुपर्ने छ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार नयाँ सरकारको विश्वासको मत लिनेमा आफू ढुक्क रहेको बताए। उनले विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको र परिवर्तनको रुपमा नयाँ पार्टी र नयाँ सांसदहरुको उदय भएको बताए। उनले देशको उन्नतीको लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौति आफूहरुका अघि रहेको भन्दै आन्दोलनका घाउमा मलमपट्टी गर्ने चुनौति छ, मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधानका चुनौतिलाई समाधान गर्नुपर्ने बताए। उनले सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलाग्न आग्रह गर्दै आफ्नो समयको सही उपयोग गर्न आग्रह गरे।

उनले भने, ‘विश्वासको मत लिनेमा म ढुक्क छु। चुनौति धेरै छन्, सहज परिस्थिति छैन। निर्वाचनपछि जसरी सरकार बन्यो, यो विगतका केही महिना हेर्दा नयाँ परिवर्तन देशले खोजेको थियो। यो सरकारको गठनबाट पनि देखिन्छ। नयाँ पार्टीको उदयको कुरा, नयाँ सांसदको उपस्थितिको कुरा छ । परिवर्तनको आकांक्षा, अपेक्षा जनताले गरेका थिए। परिवर्तनको चाहना जनताले राख्दा नयाँ पार्टीको उदय भयो। नयाँले उन्नती गर्ने खालको ट्रेन छ, यो परिवर्तनको कुरा हो। देशको उन्नतीको लागि सरकार बनाउने हो, व्यक्तिको मान, सम्मानका लागि होइन। प्रतिपक्ष दलका नेता मान्यज्युले अलिकति बहस ओपन गर्नुभएको छ। हाम्रा अघि धेरै चुनौतिहरु छन्, सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौति छ, आन्दोलनका घाउमा मलमपट्टी गर्ने चुनौति छ, मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधानका चुनौति छन्। हामी लोकतान्त्रिक मूल्य मान्यतामा चलौँ। सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने ? गोटी चालाचाल होइन, काम गर्ने बाटो समातौँ। आज राष्ट्रिय एकताको आवश्यक्ता छ। एकतावद्ध भएर राष्ट्र निर्माणका काममा लागौँ न। म सबै दलहरुलाई आग्रह, आह्वान गर्न चाहन्छु। बन्न पाएको छैन, बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बादी हुन्छ। रचनात्मक ढंले हाम्रो समय उपयोग गरौँ।’

प्रकाशित मिति : २०७९ पुष २५ गते, सोमबार


Scroll to Top

Janata Media