काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ। बिहीबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक शुक्रबार दिउँसो २ बजेसम्म स्थगित गरिएको हो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर केन्द्रीय समिति बैठक शुक्रबारसम्म स्थगित गरिएको जानकारी गराएका छन्।
कांग्रेसले असोज २८ देखि केन्द्रीय समिति बैठक गरे पनि महाधिवेशन कार्यतालिकामा मतभेद हुँदा अहिलेसम्म निर्णय लिन सकेको छैन।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग अनौपचारिक कुराकानी गरेका थिए। उक्त कुराकानीमा महाधिवेशन तिथिमितिबारे सहमति जुट्न नसकेपछि बैठक फेरि स्थगित गरिएको नेताहरूको भनाइ छ।
महामन्त्री थापा र शर्माले पुसभित्रै नियमित महाधिवेशन नगर्ने हो भने अब विशेष महाधिवेशनको विकल्प नहुने अडान राख्दै आएका छन्।







