गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराजको दाबी पेश, शपथ पनि आजै

जनता संवाददाता
२०७९ पुष २५ गते, सोमबार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न एमाले संसदीय दलका नेत खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका छन् ।

केन्द्रीय सत्तारुढ दलमा आइतबार बेलुकामात्र भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट चुनाव जितेका हुन् । एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टी जनाएका थिए ।

तर, प्रदेशको भागबण्डाको टुंगो नलाग्ने ३ दलले सरकार गठनपछिको साझा एजेण्डाबारे र प्राथमिकताबारे शनिबारदेखि नै छलफल गरिरहेका छन् । गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष २५ गते, सोमबार


Scroll to Top

Janata Media