स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

जनता संवाददाता
२०७९ माघ २ गते, सोमबार

काठमाडौँ । बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुगेको थियो । खेलको ३३औँ मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ४५औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

खेलको पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको बार्सिलोनाले खेलको ६९औँ मिनेटमा पेड्रीको गोलबाट ३–० को अग्रता बनायो । खेलको अन्तिम समयमा करिम बेन्जेमाले गोल गर्दै ३–१ को स्थितिमा ल्याए पनि बार्सिलोनासँग रियल पराजित हुन पुग्यो ।

यो उपाधिसँगै बार्सिलोनाले १४औँ पटक स्पेनिस सुपर कपको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले यसअघि सन् २०१८ मा पछिल्लो पटक स्पेनिस सुपर कपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : २०७९ माघ २ गते, सोमबार


Scroll to Top

Janata Media