काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएका छन् ।
जस अनुसार माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने भएका छन् । शर्मा सञ्चार तथा सूचना प्रविधी, किराँती पर्यटन र मोदी सामान्य प्रशासन मन्त्री बन्ने माओवादी नेताहरूले बताएका छन् ।
यस्तै, एमालेबाट डा विमला राई पौड्याल परराष्ट्र मन्त्री र पदम गिरी स्वास्थ्य मन्त्री बन्ने तय भएको नेताहरुले बताएका छन् । यस्तै, एमालेबाट भगवती चौधरी र हरि उप्रेती पनि मन्त्री बन्ने तय भएको छ । चौधरी र उप्रेतीले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय हुन बाँकी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्रीमा शिशिर खनाल, श्रम रोजगार मन्त्रीमा डोल प्रसाद अर्याल र स्वास्थ्य राज्य मन्त्रीमा डा। तोषिमा कार्कीलाई पठाउने निर्णय गरिसकेको छ । यस्तै राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा जाने निर्णय भएको छ । राप्रपाबाट विक्रम पाण्डे शहरी विकास र ध्रुववहादुर प्रधान कानुन मन्त्री बन्ने तय भएको छ । यस्तै दिपकबहादुर सिंह उर्जा राज्यमन्त्री बन्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मंगलबार एमालेका ४, माओवादी केन्द्रका ३, राप्रपाका ३ र राष्ट्रिय स्वतन्त्र पार्टीका २ जना मन्त्री र एकजना राज्य मन्त्रीले शपथ ग्रहण गर्ने तयारी छ ।