काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो पात्रो र ग्लोबल डायरी आइतबार सूचीकरणपछि सक्रिय भएको जानकारी गराएको छ।
यसअघि मन्त्रालयले स्मार्ट आइडिया प्रा। लि। को हाम्रो पात्रो तथा ग्लोबल डायरी प्रा।लि। लाई निष्क्रिय भएको थियो।
सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार भदौ १२ देखि सूचीकरणका लागि सम्पर्कमा नआएकालाई निष्क्रिय गराउने तथा सम्पर्कमा आएकालाई सोही क्षणदेखि पुनः सक्रिय गराउने प्रक्रिया सुरु भइसकेको छ।
यसैगरी, सामाजिक सञ्जालहरु ट्वीटर र वीच्याट ले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकोमा सो विवरण उपलब्ध गराइएको जानकारी उनले दिए।
उहाँका अनुसार सर्वोच्च अदालतको आदेश पालनासमेतका लागि गत भदौ ९ गते मन्त्रिपरिषद्बाट भएको निर्णयानुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सात दिनको म्याद दिइएको थियो।







