काठमाडौँ। तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर( २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेका हुन् । स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए ।
पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ, त्यसैले यो गैंडा तस्करले नै मारेको हुन सक्ने निकुञ्जको भनाइ छ । गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।
चालु आर्थिक वर्षमा निकुञ्जमा चोरीशिकारीबाट गैंडा मारिएको घटना यो पहिलो हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भने विदेश भ्रमणमा छन् । यस वर्ष यी सहित १० गैंडा मरेका छन् । ९ वटा गैँडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।