
काठमाडौं । गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ६ अर्ब ५० करोड रकम खर्च भएको निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार आयोगमा आयोजित कार्यक्रममा निर्वाचन खर्चबारे जानकारी गराइएको हो। आयोगको प्रारम्भिक अनुमानमा उक्त रकम खर्च भएको हो। अब करिब ५० करोड भुक्तान गर्न बाँकी रहेको जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च रकम ७ अर्ब नकट्ने बताए।
निर्वाचनका लागि आयोगलाई १० अर्ब रूपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्ये ८ अर्ब ४९ करोड ९९ लाख निकासा भएको थपलियाले बताए।
हालसम्म भएको खर्चमा आयोगतर्फ १ अर्ब ३३ करोड ९७ लाख रहेको छ। यस्तै, जिल्ला निर्वाचन कार्यालयतर्फ ४४ करोड ९० लाख, १६५ वटा निर्वाचन कार्यालयतर्फ ४ अर्ब ५९ करोड ८४ लाख र अन्य मन्त्रालयतर्फ ११ करोड ७५ लाख रहेको आयोगले जनाएको छ।