टर्की भूकम्पमा परी १५ जनाको मृत्यु, कैयौं मानिस पुरिएको आशंका

जनता संवाददाता
२०७९ माघ २३ गते, सोमबार

काठमाडौं । सोमबार बिहान सवा चार बजेतिर टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार अहिलेसम्म १५ जनाको शव निकालिएकी टर्कीस अधिकारीहरुले जानकारी दिएका छन्।

अमेरिकी भूगर्भिक सर्भेका अनुसार ७.८ रेक्टरस्केलको भूकम्पको केन्द्रबिन्दु कहरामनमारस प्रान्तको गाजियानटेप सहरभन्दा ३० किलोमिटर टाढा रहेको छ। भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा करिब २४ किलोमिटर मुनि रहेको बताइएको छ।

भूकम्पको झड्का राजधानी अंकाराका साथै नूरदगी सहरसहित सीरिया र लेबनामासमेत महशुस गरिएको छ। स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ रेक्टरस्केलको पहिलो शक्तिशाली भूकम्प गएको थियो। त्यसको ११ मिनेटपछि पुन: ६.७ रेक्टरस्केलको दोस्रो भूकम्प गएको थियो।

दोस्रो भूकम्पको केन्द्र जमिनभन्दा ९.९ किलोमिटर मुनि रहेको बताइएको छ। कैयौं मानिसहरु मारिएको बताइएको छ। सरकारले आधिकारिक रुपमा मानविय क्षतिबारे कुनै जानकारी दिएको छैन। कैयौं भवनहरु भत्किएका छन्।

भत्किएका भवनमुनि कैयौं मानिसहरु च्यापिएको आशंका गरिएको छ। टर्की सरकारले भूकम्पपछि देशमा आपतकाल घोषणा गरेको छ।

प्रकाशित मिति : २०७९ माघ २३ गते, सोमबार


Scroll to Top

Janata Media