गुलशन झा यू–१९ एसिया कप खेल्ने

जनता संवाददाता
२०८० मंसिर ९ गते, शनिबार

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका मुख्य अलराउन्डर गुलशन झाले यू–१९ एसिया कप खेल्ने भएका छन्। राष्ट्रिय टिमबाट निरन्तर खेल्दै आएका गुलशनले यू–१९ टिमबाट समेत एसिया कप खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

उनले यसअघि श्रीलंकामा भएको सिनियर टिम सम्मिलित एसिया कप समेत खेलेका थिए। साथै एसियन गेम र विश्वकप छनोटको टोलीमा उनी महत्त्वपूर्ण सदस्य थिए।

गुलशन सिनियर र जुनियर दुवै टिमबाट नेपालका लागि एसिया कप खेल्ने पहिलो खेलाडी बन्ने भएका छन्।

राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुलशनलाई यू–१९ टिममा राख्ने विषयमा नेपाल क्रिकेट संघ क्यानले समेत औपचारिक निर्णय गरेको छ। प्रशिक्षकसहित सबै सँगको सल्लाहबाट यो निर्णय गरिएको क्यानका सचिव पारस खड्काले बताए।

नेपाल यू–१९ प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको थियो। यू–१९ एसिया कप डिसेम्बर ८ देखि १८ सम्म यूएईमा हुँदै छ।

प्रकाशित मिति : २०८० मंसिर ९ गते, शनिबार


Scroll to Top

Janata Media