काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताएकी छन् ।। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताईन्।
देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भने, ‘‘कोभिड(१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल मात्र अछुतो रहको छैन। अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने देखिएको छ। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र संस्थागत गर्न वित्त नीतिमा निर्देशित हुनुपर्ने देखिएको छ।’’
देशको अर्थतन्त्रको विषयमा सबै जानकार रहेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुधारका लागि अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिईन्। उनले तत्काल अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि भरपर्दो नभएको बताईन्।
देशको अर्थतन्त्रको विषयमा धारणा राख्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘‘देशको अर्थतन्त्रको विषयमा हामी सबै जानकार छौँ। अर्थतन्त्रमा देखिएका समस्याको अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्ने अवस्था छ। अर्थतन्त्रका सूचकमा तत्काल केही सुधार देखिए पनि त्यो भरपर्दो छैन।’’
उत्पादन क्षेत्रमा गम्भीर बन्नुपर्छ
उनले बढ्दै गएको व्यापार घाटालाई कम गर्न उत्पादन क्षेत्रमा गम्भीर बन्नुपर्नेमा जोड दिईन्। ‘‘बढ्दै गएको व्यापार घाटालाई कम गर्न उत्पादन क्षेत्रमा हामी सबै गम्भीर बन्नुपर्छ। विश्वव्यापीकरणको यो युगमा हाम्रो प्रयास मात्र पर्याप्त हुँदैन। कोभिड–१९ र डेंगुलाई देखाएर पन्छिने अवस्था छैन।’’
पुँजीगत बजेट खर्च नभएकोप्रति चिन्ता
राष्ट्रपति भण्डारीले पुँजीगत बजेट कम हुने र त्यो सबै खर्च हुन नसक्दा पुँजी निर्माणमा समस्या भएको बताईन्। उनले भनिन्,“हाम्रो देशमा पुँजीगत बजेट कम मात्रामा विनियोजन हुनेगरेको छ। त्यही पनि पुरै मात्रामा बजेट खर्च हुँन नसक्दा पुँजी निर्माणमा बाधा हुने गरेको छ।”
पछिल्लो समय लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेकोप्रति उनले चासो व्यक्त गरिन्। लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसक्दा देशको आर्थिक वृद्धिमा असर परिरहेको उनको भनाइ छ। लक्ष्य अनुसारको राजस्व सङ्कलनमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उनले बताईन् । राजस्व सङ्कलन कम हुनु र वैदेशिक सहायता परिचालनमा कमी आउँदा आन्तरिक ऋणको चाप बढ्दै गएको उनको भनाइ छ।
राष्ट्रपति भण्डारीले भनिन्, “लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुनु र वैदेशिक सहायता परिचालनमा कमी आउँदा खर्च धान्न गाह्रो भएको छ। आन्तरिक ऋणको चाप बढ्दै गएको छ।”
नेपाल अर्थतन्त्रको संरचना नै आयातमुखी रहेका कारण यसमा परिवर्तन नगरी व्यापारघाटा तत्काल कम गर्न कठिन रहेको उहाँले बताउनुभयो। निर्यात प्रवर्द्धनका लागि हालसम्म भएका प्रयासको गम्भीर छलफल गर्नु आवश्यक रहेको उनले बताईन्। उनले भनिन्, ‘नीति तथा कार्यक्रम राम्रा भए पनि कार्यान्वयनमा देखिएको जटिलतालाई मध्यनजर गर्दै पुनर्विचार गर्नुपर्ने आवश्यकता देखेकी छु।’
वित्त नीति र मौद्रिक नीति परिपूरक
वित्त नीति र मौद्रिक नीति एकअर्काका परिपूरक हुनुपर्ने आवश्यकता रहेको राष्ट्रपति भण्डारीले बताईन्। दुवै नीतिको कार्यन्वयनबाट आर्थिक क्रियाकलाप चलायमान हुने भएकाले दुवैबीचमा सामञ्जस्य हुनुपर्ने उनको भनाइ छ। आर्थिक क्षेत्रका विषयमा धारणा राख्दै उनले भनिन्, “आर्थिक वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्य मात्र होइन, परिपुरककै रुपमा काम गर्नुपर्ने हुन्छ। दुवै नीतिको कार्यान्वयनबाट आर्थिक क्रियाकलाप चलाएमान बन्ने हो, यसमा उपयुक्त सामञ्जस्य खोज्नुपर्दछ।”
बजारमा देखिएको मौद्रिक तरलता सङ्कुचनका कारण बैङ्क तथा वित्त संस्थाको ब्याजदर बढेको उनको भनाइ छ। यो सङ्कट हल गर्न तत्काल कदम चाल्नु आवश्यक रहेको उनले बताईन्। ब्याजदर बढेको प्रति चासो राख्दै राष्ट्रपति भण्डारीले भनिन्, “विगत केही समयदेखि बजारमा मौद्रिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको छ। यो सङ्कट हल गर्न तत्काल कदम चाल्नु आवश्यक छ।” तरलता अभावको स्थितिमा ब्याजदर बढ्न गएर लागत अनुमान बढ्दा उद्योगी व्यवसायीका साथै आम उपभोक्तालाई नै असर पर्ने देखिएको उनको भनाइ छ।
आन्तरिक उत्पादन बढाऔं
राष्ट्रपति भण्डारीले निर्यात प्रवर्द्धनका लागि आन्तरिक उत्पादनको क्षेत्र सबल हुनुपर्ने बताईन्। सरकारले उत्पदान वृद्धिका लागि छिटोभन्दा छिटो समन्वयात्मक रुपमा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। सम्बोधनका क्रममा उनले भनिन, “निर्यात प्रवर्द्धनको लागि आन्तरिक उत्पादनको क्षेत्र सबल हुनु जरुरी छ। सरकारले उत्पदान वृद्धिका लागि छिटोभन्दा छिटो समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ।”







