पूजा शर्मा भन्छिन्, पल शाह देख्दा शाहरुख खान नै लाग्छ

जनता संवाददाता
२०७९ माघ २८ गते, शनिबार

काठमाडौं । अभिनेता पल शाहसँग पूजा शर्माको निकटता सबैलाई थाहा भएकै कुरा हो । केही फिल्ममा यी दुईको जोडी हिट पनि भएको छ । जबर्जस्ती करणीको मुद्दामा पल पक्राउ पर्दा पूजाले आँसु पनि बगाएकी थिइन् ।

यतिबेला पललाई लिएर पूजाले पुनः टिप्पणी गर्दै पलबिना फिल्म उद्योग नै खल्लो लागिरहेको बताएकी छन् । पल र पूजाले सँगै अभिनय गरेको एक गीत समावेश फिल्म ‘मनसँग मन’ शुक्रबारदेखि हलमा रिलिज भएको छ । उक्त फिल्मको विशेष शो आयोजना गरिएको थियो ।

फिल्म हेरिसकेपछि पूजा मिडियासामु पललाई लिएर केही भावुक सुनिइन् । पल बिना आफूलाई नरमाइलो लागिरहेको उनको भनाई छ । पलजस्तो कलाकार पाउन मुस्किल रहेको उनको दावी थियो ।

बोल्दै गर्दा पूजाले बलिउड अभिनेता शाहरुख खानको नाम पनि लिइन् । पूजा शाहरुखकी फ्यान हुन् भन्ने कुरा सबैलाई थाहा भएकै हो । शाहरुखको फिल्म ‘पठान’ रिलिज हुँदा हल पुगेर उनले केक समेत काटेकी थिइन् । पललाई देख्दा पनि शाहरुख नै लाग्ने भन्दै उनले प्रशंसा गरिन् । शाहरुखलाई आफूले भगवान मान्ने बताउँदै पूजाले उनलाई नै हेरेर फिल्म करिअरमा आउने निर्णय समेत गरेको बताइन् ।

प्रकाशित मिति : २०७९ माघ २८ गते, शनिबार


Scroll to Top

Janata Media