काठमाडौं । बागेश्वरी सडक खण्ड दश दिनको लागि बन्द गरिएको छ । मार्गको भानु नगरपालिकाको वडा नम्बर ६ को बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले बन्द गरिएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले बताए ।
भट्टराईका अनुसार उक्त मोटरमार्गको व्यास नगरपालिका– १२ घाँसीकुवादेखि वडा नम्बर ११ को, पोल्याङ, सेहरा हुँदै बरभञ्ज्याङसम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ ।
मङ्सिर महिनाभित्र काम पुरा गरी पुसबाट यातयात सूचारु गर्ने गरि कामलाई तिब्रता दिईएको छ । उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ । बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र सुरु गरिएको छ ।
सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्र लगायत स्तरोन्नतिको काम सुरु गरिएको उनले बताए । व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको समितिले जनाएको छ ।
समितिका अनुसार पहिलो चरणमा व्यास नगरपालिका–११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ । जसअनुसार पाँच दशमलव पाँचदेखि सात दशमलव पाँच मिटरसम्म चौडाइ र नाला निर्माण हुनेछ । आठ सय ५० मिटर सडक भने कालोपत्र भइसकेको छ ।







