आईसीसी लिग–२ : नामिबियामाथि नेपालको शानदार जित

जनता संवाददाता
२०७९ फाल्गुन ६ गते, शनिबार

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।

लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो ।

नेपालको लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल तेस्रो ओभरमा १ रनमै आउट भएका थिए । तर आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । ओडीआईमा नेपालको यो सर्वाधिक साझेदारी हो ।

यो जोडीले यही लिग टु को पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले गरेको १३३ रनको साझेदारी तोडेका हुन् ।

२७औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि साझेदारी तोडिएको थियो । ज्ञानेन्द्रले ७४ बल खेल्दै ५ चौका र ३ छक्कमा मद्दतमा ६५ रन जोडे ।

आशिफले ९८ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ८१ रन बनाए । आशिफ ३२औं ओभरमा आउट भएका थिए ।

त्यसपछि कुशल मल्ल र रोहितले इनिङ्स अघि बढाए । कुशलले शनिबार रोहित भन्दा अघि ब्याटिङ गरेका थिए । क्रिजमा दुवै नयाँ भएपनि सम्हालिएर खेल्दै ९२ रनको साझेदारी गरे ।

नेपाल जित नजिक पुग्दा कुशलले ठूलो सट खेल्न खोज्दा आउट भए । कुशल मल्लले ४९ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६२ रन जोडे । त्यसपछि पनि नेपालले थप ३ विकेट गुमायो ।

कुशल मल्लले लिग टु मा लगातार दोस्रो अर्धशतक बनाएका हुन् । यसअघि शुक्रबार स्कटल्याण्डलाई पारजित गर्दा कुशल मल्लले आक्रामक ८१ रन बनाएका थिए ।

रोहितले ४३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १ रनमै आउट भए । नामिबियाका रुबेन ट्रम्पलमेनले ३, बर्नानर्ड स्कोल्जले २ तथा तांगेनी लुंगामेनी र पिक्की या फ्रान्सले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले जान ग्रीनको अविजित ७५ रन ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको थियो ।

ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे । १३८ रनमा ५ विकेट गुमाएको नामिबियाका लागि जान ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ग्रिनले अन्तिम ११ बलमा रुबेन ट्रम्पलमेसँग अविजित ४४ रनको साझेदारी गरे ।

नामिबियाले अन्तिम १० ओभरमा ११५ रन जोडेको थियो ।

४९औं ओभरमा सोमपाल कामीले नन पिक्की या फ्रान्सलाई रनआउट गर्दै यो साझेदारी तोडेका थिए । यस्तै नन स्ट्राइकर एन्डमा रहेका फ्रान्स अर्धशतक बनाउनबाट समेच एक रनले चुके ।

सातौं नम्बरमा ब्याटिङ गरेका फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए ।

त्यसपछि लो हान्ड्रे लौरेन्स र कार्ल विर्केन्स्टोकले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । लौरेन्सले ४१ र कार्लले २० रन बनाए । दुवैलाई सन्दीप लामिछानेले लगातार ओभरमा आउट गरेका थिए ।

यस्तै माइकल भान लिगेनले २२ रन बनाए भने कप्तान गेर्हार्ड एरासमस र जान निकोल लोफ्टी एटोनले समान १५ रन जोडे । नेपालका लागि सन्दीपले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए ।

अघिल्लो खेलमा ५ विकेट लिएका करणले आज १ विकेट मात्र लिए । त्यसका लागि उनले ९ ओभरमा ७० रन खर्चिए ।

करण केसीले ९ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिए तर विकेट लिन सकेनन् । नामिबियाका दुई खेलाडी रनआउट भए ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते, शनिबार


Scroll to Top

Janata Media