पुरानो गठबन्धन ब्युँताउने बारे छलफल गर्न बालुवाटारमा बैठक सुरु

जनता संवाददाता
२०७९ फाल्गुन १२ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनका लागि मोर्चाबन्दीसँगै पुरानो गठबन्धन ब्युँताउन नेकपा माओवादी केन्द्रसहित नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायत राजनीतिक दलको बैठक बालुवाटारमा बसिरहेको छ ।

बिहान ८ बजेपछि सुरु भएको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार कुन पार्टीबाट संयुक्त रूपमा उठाउने भन्ने बारेमा निर्णय हुने नेताहरूले दाबी गरेका छन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको दुईपक्षीय तथा बहुपक्षीय छलफलमा राष्ट्रपतिमा नेपाली काँग्रेस र नेकपा एसले दाबी गरेका छन् ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टीले पनि राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई उठाउनुपर्ने भन्दै छलफल चलाइसकेको छ ।

जसपाले उपराष्ट्रपति पाउनुपर्ने माग गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति आफूहरूलाई दिन प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको दावी गरे ।

सिंहदरवारमा हिजो भएको छलफलबाट निस्कनेक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति, उपराष्ट्रपति पदभन्दा पनि संविधान, विधि, पद्धतीको संरक्षण गरेर जाने बारेमा कुराकानी भएको बताए ।

बिहानदेखि दिउसोसम्म एक्लाएक्लै भेटेका माओवादी, नेकपा एस र जसपाका नेताहरूबीच हिजो साझ संयुक्त छलफल भएको थियो । तर आज काँग्रेससहितको बैठकबाट सहमति गर्नेभन्दै नेताहरू उठेका थिए ।

पुरानो गठबन्धन ब्युँताउने र राष्ट्रपति तथा उपराष्ट्रपतिमा मिलेर उम्मेदवारी दिने निर्णय भयो भने नेकपा एमाले माओवदाी केन्द्रलगायतका दल सहभागि वर्तमान गठबन्धन तोडिने छ ।

तर आफूहरूले अन्तिमसम्म पनि सहमतिको प्रयास गर्ने माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए ।

यसअघि प्रधानमन्त्री र राष्ट्रपतिमा काँग्रेसले दावी नछोडेपछि प्रचण्ड गएको पुस १० गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नु भएको थियो ।

प्रधानमन्त्रीमा आफूलाई सघाउन आग्रह गर्दै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका शक्तिशाली पदमा भागबण्डा मिलेपछि सोही दिन प्रधानमन्त्रीमा दावी पेश गर्न एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, सजपा, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायत पार्टीका नेतासहित प्रचण्ड राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

त्यसको १६ दिनपछि संसदमा काँग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा दलीय सहमति खोज्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्डले जोड दिँदै आएका थिए ।

एमालेले भने यसअघि भएको भनिएको सहमतिअनुसार राष्ट्रपतिका लागि आफूले उठाएको उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताउँदै आएको छ । प्रधानमन्त्री प्रचण्डले आजै एमाले अध्यक्ष ओलीसँग पनि छलफलको तयारी गरेका छन् ।

काँग्रेससहितको बिहानको बैठकमा पुरानो गठबन्धन व्युँताउने सहमति भयो भने ओलीसँग उनको बर्तमान सत्ता गठबन्धनको विदाइ भेट हुने टिप्पणी भइरहेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते, शुक्रबार


Scroll to Top

Janata Media