विश्वकप क्रिकेट लिग-टू: नेपालद्वारा यूएई ४२ रनले पराजित

जनता संवाददाता
२०७९ फाल्गुन २२ गते, सोमबार

काठमाडौँ । विश्वकप क्रिकेट लिग टूमा नेपालले यूएईलाई ४२ रनले हराएको छ । २३० रनको लक्ष्य पाएको घरेलु टोलीलाई ४५ ओभरमा १८७ रनमा अल आउट गर्दै नेपाल विजयी भएको हो ।

यससँगै नेपालले एकदिवसीय विश्वकपको छनोट खेल्न पाउने सम्भावना कायमै रहेको छ भने एकदिवसीय मान्यता जोगाइराख्ने सम्भावना बलियो बनेको छ । आजको खेल जारी शृंखलाको अन्तिम खेल हो । यसपछि नेपालले पपुवा न्युगिनी (पीएनजी) र यूएईसँगै काठमाडौँमा दुई दुई खेलको शृंखला खेल्नेछ । एकदिवसीय विश्वकप छनोट खेल्न नेपालले बाँकी चारवटै खेल जित्नुपर्ने छ । यस्तै एकदिवसीय मान्यता जोगाइराख्न चार मध्ये २ खेल जिते पुग्ने छ ।

आजको खेलमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले तीन तीन तथा करण केशी, सन्दीप लामिछाने, र आरिफ सेखले एक एक विकेट लिनुभयो । यूएईका आसिफ खानले ८२ तथा आरिफ लर्काले ५० रन बनाए ।

यूएईमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो । नेपालका लागि भीम सार्कीले सवैभन्दा धेरै ७० रन बनाए । यस्तै, आरिफ सेखले अविजित ४३ कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाउनुभयो । यस्तै करण केसीले १७, ज्ञानेन्द्र मल्लले ११, आसिफ शेखले ६, दिपेन्द्रसिंह ऐरीले ४ र रोहित पौडेलले १ रन बनाए ।

नियमित ओपनर कुशल भुर्तेल घाइते भएपछि आज ज्ञानेन्द्र मल्ल र आसिफ शेखले ओपनिङ गरेको खेलमा १४ रन हुँदा नेपालको पहिलो विकेट गुमेको थियो । त्यस्तै, ३४ मा दोस्रो, ४९ मा तेस्रो, ५९ मा चौथो, ६८ मा पाचौँ विकेट गुमाएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते, सोमबार


Scroll to Top

Janata Media