पेटबाट रक्सीको बोतल निकालियो

जनता संवाददाता
२०७९ फाल्गुन २५ गते, बिहीबार

चितवन । पुरानो मेडिकल कलेज भरतपुरले पेटभित्र रक्सीको बोतल पसेको अवस्थामा आएका बिरामीको सफल शल्यक्रिया गरेको छ।

रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय युवकको मलद्वारबाट रक्सीको बोतल पेटमा छिरेको थियो। बोतल छिरेपछि स्थानीय मेडिकलमा उपचार गर्दा सम्भव नभएपछि चन्द्रनिगाहपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ एक्सरे गर्दा पेटमा बोतल देखिएपछि बिरामीलाई उपचारका लागि भरतपुर ल्याइएको थियो।

भरतपुरको पुरानो मेडिकल कलेजमा आएपछि कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा जीआई सर्जन डा. नारायणप्रसाद बेल्बासेको नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो। एक्सरेपश्चात् अपरेसन कोठामा लगेर पेट चिरेर हेर्दा ठूलो आन्द्रा फुटेर बोतल बाहिर निस्केको अवस्थामा भेटिएको उनले बताए। उनले भने, “बोतल निकालेर पेटलाई सफा गरियो। फुटेको भागलाई सिलाइदिएका छौँ। मलद्वारबाट बोतल छिराइएको पाइयो।”

अहिले बिरामी सामान्य अवस्थामा र होस आएकाले उहाँ कुराकानी गर्न सक्ने अवस्थामा हुनुहुन्छ। बिरामीले साथीहरूसँग गएको अवस्थामा बेहोस भएपछि अन्य कुरा थाहा नभएको बताएको डा। बेल्बासेले जानकारी दिए। अस्पताल आउँदा बिरामीको अवस्था जटिल थियो शल्यक्रियापश्चात् सामान्य अवस्थामा आइसकेकाले अहिलेलाई कुनै जटिलता नभएको डा. बेल्बासेले जानकारी दिए। “यस प्रकारको अवस्था देख्दा यत्रो बोतल कसरी भित्र गयो भन्नेमा आश्चर्यचकित भएका छौँ,” डा. बेल्बासेले भने, “जानीजानी यस्तो गर्नु सोच्दै नसोचेको अवस्थाको गम्भीर अपराध हो, पेटभित्र बोतल छिरेको पहिलो घटना हो।”

डा. बेल्बासे नेतृत्वको टोलीमा रहेका डा. सागर खतिवडा, डा. विनय तिमल्सिना, सुशील भुजेल, राजेश यादव, असिम, मोनालिसाको टिमले साढे दुई घन्टा लगाएर शल्यक्रिया गरी बोतल निकालेको थियो। डा. बेल्बासेले भने, “शौचालयमा हातेपानीको पाइप मलद्वारबाट छिरेर जटिल भएको बिरामी, मलद्वारबाट दाउरा छिरेर पेटमा पुगेको जस्ता जटिल बिरामीको सफल शल्यक्रिया गरेर बिरामीलाई निको पारेका थियौँ। सिसाको बोतल नै पेटभित्र पसेर बिरामी आएका थिएनन्।”

उनले बिरामीको अवस्था जटिल भए पनि मलद्वारको मुख्य भाग ८० प्रतिशत सुरक्षित भएकाले अवस्था सामान्य हुने जानकारी दिए। पुरानो मेडिकल कलेजमा सबै जाँचपछि त्यहाँ पनि उहाँको पेटमा सिसाको बोतल नै देखिएपछि डा. बेल्बासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते, बिहीबार


Scroll to Top

Janata Media