रामचन्द्र पौडेल बने नेपालको तेस्रो राष्ट्रपति

जनता संवाददाता
२०७९ फाल्गुन २५ गते, बिहीबार

काठमाडौं । राजनीति गर्ने ब्यक्तिमा धैर्यता हुनुपर्छ भन्ने एउटा मान्यता छ । जसले धैर्यताको बाँधलाई आफू भित्र संगालेर राख्न सक्यो । उसको राजनीतिक जीवनले सफलता प्राप्त गर्छ । सुन्दा यो स्वभाविक कथन भएपनि यो यर्थाथ सत्य हो ।

हुन पनि अहिले नेपाली राजनीतिमा यही कुराको सत्यता सावित भएको छ । आफनो जीवनको पूर्णकाल नेपाली राजनीति र यसको बिकासको लागि होमाएका एक पुरुषमा माथिको कथन यर्र्थाथमा परिणत भएको छ । जसले आफूले आफलाई बिश्वास गर्न नसक्ने अवस्था आएको जस्तो पनि भएको बताउँदै आएको छ ।

हो त्यहि पुरुष अहिले नेपालको संवैधानिक निकायको सबैभन्दा उच्च पद राष्ट्रपति पदमा सम्मानित भएकोे छ । त्यो पुरुष हो नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल ।

कांग्रेसका महामानव बिपि कोइराला देखी सर्वमान्य नेता गणेशमान सिंह, सन्त नेता कृष्ण प्रसाद भट्टराई, हक्कि नेता गिरिजा प्रसाद कोइराला हुँदै शुशिल कोइराला सम्मको भारीलाई थेगेर राजनीतिको पदयात्रा तय गरेका पौडेलले राजनीतिक जीवनको यो मोडसम्म आइपुग्न ठूलै पापड बेल्नु परेको भनाईहरु उनकै मुखबाट बेला बखत सुनिदै आइएको पनि छ ।

७८ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण पौडेलले राजनीतिक यात्राको क्रममा पटक–पटक गरी १३ वर्ष जेलमा बन्दी जीवन व्यतित गरेका रहेछन् । पञ्चायत कालिन अवस्थामा प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेर कार्य गरेका पौडेलले आफनो जीवनको पछिल्लो कार्यकालमा एक वर्षसम्म नजरवन्दीको रुपमा जीवन गुजारेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन गरेका पौडेलले आफनो राजनीतिक जीवनमा धेरै पटक सत्ता सँग नजिक रहेर कार्य गरेका छन् । पौडेलकोे राजनीतिक यात्रामा धेरै पटक प्रश्नबाचक चिन्ह लागे पनि कांग्रेसमा कोइराला परिवारको हालिमुहाली रहुन्जेल पौडेलले सत्ताबाट बिमुख हुनु परेन ।

राजनीतिक यात्रामा बाहिरी दुनियाँको राजनीति भन्दा पनि भित्री दुनियाँको राजनीतिमा बढि चासो राख्ने पौडेललाई सरल राजनीतिज्ञको उपमा पनि दिइन्छ कांग्रेसको राजनीतिक बृत्तमा । प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले गर्दा राजनीतिमा आफूले सफलताको पाठ पाएको बताउने यिनै पौडेलले अहिले नेपालको राष्टÇपतिमा चुनिएका छन् ।

आफनो राजनीतिक यात्राको क्रममा प्रतिनिधिसभाको सभामुख देखी उप प्रधानमन्त्री लगायत विभिन्न मन्त्रालयको मन्त्री पदमा रहेर कार्य गरिसकेका पौडेल एक अनुभवी र बुज्रुक राजनीतिककर्मीको रुपमा परिचित छन् । भने पौडेलले कांग्रेसको मुखपत्र नेपाल पुकारको सम्पादक लगायत कांग्रेसको विभिन्न जिम्मेवारी पदमा रहेर कार्य गरिसकेका छन् ।

संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्छन् । अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन् ।

पौडेल ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।नेम्वाङले १५ हजार ५१८ मत भार पाए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते, बिहीबार


Scroll to Top

Janata Media