अत्यधिक रक्तस्रावका कारण बाजुरामा १७ वर्षीय सुत्केरीको मृत्यु

जनता संवाददाता
२०७९ फाल्गुन २७ गते, शनिबार

बाजुरा । अत्यधिक रक्तस्रावका कारण बाजुरामा एकजना सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर २ बजेडी गाउँकी १७ वर्षीय लक्ष्मी लुवार रहेकी छन् ।

दुई वटा शिशु जन्माएकी लक्ष्मीलाई अछामको बयलपाटा अस्पतालमा लादै गर्दा बाटोमा मृत्यु भएको बयलपाटा अस्पताल अछामले जनाएको छ । एक छोरी घरमै जन्माएकी लक्ष्मीलाई अफ्ठयारो भएपछि आफन्तले बिहीबार दिउसो ब्रहमतोला स्वास्थ्य चौकी पुर्‍याएका थिए । ब्रहमतोला स्वास्थ्य चौकीमा अर्की छोरीको जन्म दिएकी लक्ष्मीलाई अत्यधिक रक्तस्राव भएपछि स्वास्थ्य केन्द्रले बयलपाटाअस्पताल अछाम रिफर गरेको थियो ।

अत्यधिक रक्तस्रावका कारण रिफर गरेको केही समयमै लक्ष्मीको शुक्रबार बाटोमै मृत्यु भएको हो । बयलपाटा अस्पतालका अनुसार दुई शिशु मध्ये एक जना छोरीको मृत्यु भइसकेको छ भने एउटा जीवितै रहेको छ ।स्वास्थ्यकर्मीका अनुसार समयमै स्वास्थ्य चौकी नपुग्नु र आमा जोखिममा रहेको जानकारी नहुँदाको परिणामका कारणले लक्ष्मीको मृत्यु भएको हो।

तिन महिना अगाडि मात्र बुढिगंगा नगरपालिका ६ मा एकजना सुत्केरीको अत्यधिक रक्तस्रावका कारणले मृत्यु भएको थियो । बाजुरामा ४बर्ष यता मात्र लक्ष्मी लगायत ११जना सुत्केरीको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते, शनिबार


Scroll to Top

Janata Media