ह्याम्स अस्पतालमा अवतरण गर्नेबेला हेलिकप्टर दुर्घटना, पंखाको टुक्रा खस्यो

जनता संवाददाता
२०७९ चैत्र २५ गते, शनिबार

काठमाडौँ । ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ।

शनिबार दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो।

अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए।

उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको थियो। त्यसैबीच हेलिकप्टरको केही भाग झरेपछि अर्कै हेलिकप्टर पठाइएको छ।

‘दुर्घटना भएको होइन। ल्यान्ड गर्दाखेरी पुच्छरको एउटा भाग चाहिँ अर्काको घरमा खसेको भेटियो,’ उनले भने, ‘अहिले प्राविधिकहरूले हेर्दैछन्। क्षति भएको छैन।’

प्रकाशित मिति : २०७९ चैत्र २५ गते, शनिबार


Scroll to Top

Janata Media