काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई दशकमा नभएको काम आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेको दावी गरेका छन् । बारा निर्वाचन क्षेत्र २ मा आयोजित कार्यक्रममा आज उनले सो दावी गरेका हुन् ।
उपनिर्वाचनमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा माहोल बनाउन बाराको पचरौतामा बिहीबार आयोजित चुनावी सभामा उनले एमाले नेतृत्वको सरकारले मात्र देशको विकास सम्भव रहेको बताए ।
उनले भने, “समाजिक सुरक्षालगायतको भत्ता एमाले सकारले ल्याएको हो, बृद्धि गरेर चार हजार बनाएका छौं ।” गठबन्धनका नेताहरुले मुलुक विकास गर्नुभन्दा एमालेलाई गाली गरेर समय व्यतित गरिरहेको उनले टिप्पणी गरे । वर्तमान सरकार जति लामो समय टिक्यो त्यति देशको आर्थिक अवस्था कमजोर हुने उनले दावी गरे ।
बाराको निर्वाचन क्षेत्र २ मा एमालेका तर्फबाट उम्मेदवार रहेका पुरुषोत्तम पौडेललाई विजयी गराउन र विकासको अभियानमा साथ दिन उनले आग्रह गरे ।







