कालिकोट नरहरिनाथमा बोलेरो दुर्घटना, ८ जना घाइते

जनता संवाददाता
२०८१ चैत्र १३ गते, बुधबार

कालिकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–३ डाँडामाडुमा मंगलबार साँझ बोलेरो जिप दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्।

सुर्खेतबाट कुमालगाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२००२ च ०७०७ नम्बरको डबल क्याब बोलेरो जिप साँझ ६ः१० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जनता मिडियालाई जानकारी दिए।

उनका अनुसार जिप ब्याक गर्ने क्रममा अचानक नियन्त्रण गुमाउँदा सवारी साधन सडकबाट करिब २० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

दुर्घटनाग्रस्त जिप।
दुर्घटनामा नरहरिनाथ–३ का २० वर्षीय राजेन्द्र बुढा, २९ वर्षीय अनिलकुमार बोहोरा, ३५ वर्षीय विष्णुबहादुर विष्ट, ४० वर्षीय दानबहादुर सहकारी, २८ वर्षीय गणेश आचार्य, ४३ वर्षीय अमरबहादुर विष्ट, नरहरिनाथ–५, रुप्साकी ४३ वर्षीया देवी सहकारी र दैलेखका २४ वर्षीय चालक जगत बिक घाइते भएका हुन्।

घाइते सबैको कुमालगाउँस्थित योगी नरहरिनाथ आधारभूत अस्पतालमा उपचार गरिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए। उपचारपछि सबैलाई डिस्चार्ज गरिएको छ।

दुर्घटनामा बोलेरो जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते, बुधबार


Scroll to Top

Janata Media