हुम्लामा भिरबाट लडेर २० वर्षिय युवकको ज्यान गयो

जनता संवाददाता
२०८० श्रावण ३० गते, मंगलवार

दाने बोहरा,
हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट गाउँपालिका–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । पानलोटी भिरबाट लडेर ढकालको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

वर्षा यामको समयमा गाईवस्तु चरिचराउका लागि खर्क लगिने भएकाले अदानचुली र ताँजाकोटको बिच भागमा पर्ने पानलोटी खर्कमा घाँस काट्ने समयमा लडेर मृत्यु भएको ताँजकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकाले बताए ।

सोमबार दिउँसो भैसिलाई घाँस काट्न भन्दै बास बस्ने ठाउँबाट निस्किएका ढकाल भिरबाट दिउसो लडेको हुन सक्ने उनले बताए । दिनमा घाँस काट्न गएका ढकाल साझँ अबेर सम्म बास बस्ने खर्कमा नआएपछि खोजी गर्दा भिर भन्दा तल मृत अवस्थामा भेटिएका हुन् ।

बास बस्ने खर्कबाट घाँस काट्न एक्लै गएकाले दिउँसो कतीखेर लडेका हुन भन्ने कसैलाई थाहा नभएको र बेलुका बिहानसम्म घर नआएपछि मङ्गलबार खोजीमा जाँदा भिरको तल पट्टि मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको स्वास्थ्य सयोजक ढकालले बताए ।

भीरबाट ५ सय मिटर तल खसेर मृत्यु भएकोले प्रहरीले जनाएको छ । घट्नाका बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले बताए ।

प्रकाशित मिति : २०८० श्रावण ३० गते, मंगलवार


Scroll to Top

Janata Media