सुशासनको अभियान सबै स्थानीय तहमा चलाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

जनता संवाददाता
२०८० भाद्र ३ गते, आईतवार

प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सुशासनको अभियान सबै स्थानीय तहका सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

स्थानीय तहदेखी हरेक सेवाप्रवाह गर्ने निकायको कामले नै नागरिकमा सरकारप्रतिको धारणा निर्माण गर्ने हुनाले सबै तह र निकायको सामूहिक प्रयास आवश्यक हुने औल्याईन्।

प्युठानको प्युठान नगरपालिकाले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले जनताको दैनिक सेवा प्रवाहको मुख्य निकाय स्थानीय तह भएकाले सबै स्थानीय तहमा सुशासनको अभियान सन्चालन गर्नुपर्ने बताए ।

स्थानीय तहको सेवाले नागरिकमा सरकारप्रतिको धारणा निर्माण गर्ने हुनाले सबै तह र निकायको सामूहिक प्रयास आवश्यक रहेको उनले स्पष्ट गरिन् ।

सरकारले गरेको र गुणस्तरिय सेवाप्रवाह र भ्रष्टाचार विरुद्घको अभियान सवै तहमा सञ्चालन गरेमा अभियानले छिटै सार्थकता पाउने उनले बताईन् ।

अर्को प्रसङ्गमा मन्त्री शर्माले सडक विकासको मेरुदण्ड भएकाले सडक सुधार तथा विस्तारमा सर्वपक्षीय सहमति गर्नुपर्ने बताउनुभयो । भालुवाङ–प्युठान सहायक राजमार्गको चेरनेटा–बाग्दुला–सारिवाङ सडकखण्ड विस्तार गर्ने सवालमा स्थानीय तह र सबै राजनीतिक दलले साझा सहमतिको आधारमा निस्कर्ष निकाल्नुपर्ने उनले बताईन् ।

भालुवाङ प्युठान सडकखण्डको विस्तारका लागि सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा पहल थालिएकाले प्युठानको मुख्य बजारक्षेत्र हुँदै जाने सडक विस्तारका लागि स्थानीय सरकारको अगुवाइमा साझा धारणा बनाएर विकास निर्माणलाई सहज बनाउनुपर्ने मन्त्री शर्माले बताईन् ।

प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम पोख्रेल, निमा गिरी, धनलक्ष्मी श्रेष्ठ, लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री कृष्णध्वज खड्का, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला र सडकको क्षेत्र विस्तारवाट प्रभावित हुने स्थानीयको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८० भाद्र ३ गते, आईतवार


Scroll to Top

Janata Media