शाश्वतधाममा सुरक्षा व्यवस्था कडाई, दुई सय सुरक्षाकर्मी परिचालन

जनता संवाददाता
२०८० भाद्र ३ गते, आईतवार

कावासोती । पूर्वी नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाममा शनिबारदेखि विराट हनुमान कथा प्रवचन सुरु भएको छ । बागेश्वरी धामका संरक्षक एवम् बागेश्वरी बाबा भनेर चिनिने धिरेन्द्र कृष्ण शास्त्रीले तीन दिनसम्म हनुमान कथा प्रवचन गर्नेछन् ।

शास्त्रीको कथा सुन्न शाश्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ । शाश्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

शाश्वतधाममा हुने कथा वाचनमा सर्वसाधारणको भिड बढ्दै गएपछि व्यवस्थापनका लागि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तिवारीले बताए । चौधरी ग्रुपले आफ्नै निजी सुरक्षा गार्ड र संयमसेवकहरू समेत परिचालन गरेको छ । हनुमान कथा प्रवचनका लागि दैनिक १० हजारदेखि २० हजारसम्म अटाउने गरी भक्तजनलाई कथा श्रवणका लागि बस्ने व्यवस्था मिलाइएको छ ।

दुम्कौलीस्थित शास्वतधाममा श्री हनुमान कथा सुरु गर्नुपूर्व उहाँले माता जानकीको माइत नेपाल रहेको प्रसङ्ग उल्लेख गर्दै सम्पूर्ण नेपालीलाई मामाको सम्बोधन गर्दै खुसी व्यक्त गरे । जानकीको जन्मभूमिमा जन्म लिनपाउने सौभाग्य नेपालीलाई मिलेको बताउँदै उहाँले नेपाली भाग्यमानी रहेको बताए ।

भगवानले समेत भारत छोडेर आउनु परेको तर्क गर्दै संयोग नै मान्नुपर्ने बताउँदै पशुपतिनाथ, मुक्तिनाथ, रघुनाथ र बागेश्वरी नाथ यसले नेपालीवासीको सम्पूर्ण कुरा सुधार हुने विश्वास व्यक्त गरे । नेपाल आउनुको श्रेय चौधरी परिवारलाई दिँदै तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन साँझ ५ बजेदेखि श्री हनुमान कथा सुरु गरेका थिए ।

उद्योगपति एवम् प्रतिनिधि सभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले निर्माण गरेको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलोपटक नेपाल आउनु भएको हो । शास्वतधाम हिन्दु धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रूपमा चर्चित छ । शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आकर्षक शैलीको हिन्दु मन्दिर हो । यहाँ संस्कृत गुरुकुलसमेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदै आएको छ ।

चौधरी ग्रुपका निर्देशक वरुण चौधरीले स्वागत गर्दै धार्मिक ज्ञान आदान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताए । शाश्वतधामको ६ वर्षको अवधिमा ५० लाखले अवलोकन गरेको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते, आईतवार


Scroll to Top

Janata Media