बालबालिकाका क्षेत्रमा लगानी घटाउनु हुँदैन : उपसभामुख राना

जनता संवाददाता
२०८० भाद्र ४ गते, सोमबार

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाका क्षेत्रमा राज्यको लगानी घटाउन नहुने बताएकि छन् ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को २१औँ स्थापना दिवस र साधारण सभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय बाल कल्याण परिषद्को बजेट कटौती भएको भन्दै चिन्ता व्यक्त गरिन् ।

उपसभामुख रानाले सडक बालबालिकाको उद्धार, राहत र पुनःस्थापनाका साथै बालविवाहको अन्त्य र उनीहरुको शिक्षा तथा पोषणमा सरकार र गैरसरकारी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिईन् । उनले ‘सिजप दुई दशक’ पुस्तकको लोकार्पण पनि गरिन्।

परिषद्का सदस्य सचिव इन्द्रदेवी ढकालले बालबालिकाका क्षेत्रमा गर्नुपर्ने कामका लागि स्रोत र साधनको पर्याप्तता नभए पनि आफूहरुले सक्दो प्रयास गरेको बताईन् ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले अभियानलाई परियोजनाका आधारमा नभई वास्तविक अभियानका रुपमा सञ्चालन गर्न आग्रह गरिन् ।

सिजपका अध्यक्ष राजेश शर्माले बालअधिकारका क्षेत्रमा खबरदारी र नीतिगत पैरवी गर्ने सञ्जालका रुपमा अभियानलाई अगाडि बढाइने बताईन् ।

कार्यक्रममा सो अभियानका पूर्वअध्यक्ष र संस्थापकलाई सम्मान गरिएको थियो। साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित मिति : २०८० भाद्र ४ गते, सोमबार


Scroll to Top

Janata Media