डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, चौधको मृत्यु

जनता संवाददाता
२०८० भाद्र १८ गते, सोमबार

काठमाडौं । डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २२ हजार ६२७ जनामा पुष्टि भएको छ ।

अहिलेसम्म १४ जना सङ्क्रमितको मृत्यु भएको डा। दाहालले जानकारी दिनुभयो। पछिल्ला केही वर्षदेखि डेंगु सङ्क्रमण जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा देखिँदै आएको छ ।

पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि सङ्क्रमण दैनिक बढ्दो छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ, ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिने चिकित्सकहरु बत्ताउँछन् ।

यो वर्ष जुलाईबाट बढ्न थालेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिनासम्म उच्च बिन्दुमा पुग्ने केन्द्रले प्रक्षेपण गरेको छ । डेंगुको जोखिम कायम रहेकाले सचेत रहन चिकित्सकको सुझाव छ। पछिल्लो केही दिनदेखि काठमाडौँ उपत्यकामा पनि डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

डेंगु सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा पुष्टि भएको छ । सो प्रदेशमा १७ हजार ८८ जनामा डेंगु पुष्टि भएको छ । सुनसरी १२ हजार ४३१, मोरङ २२ सय ४९, धादिङमा २१ सय ७३ र झापामा १३ सय ४७ जनामा डेंगु पुष्टि भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते, सोमबार


Scroll to Top

Janata Media