सात करोडको डबली सञ्चालनमा नआउँदै जीर्ण

जनता संवाददाता
२०८० भाद्र २५ गते, सोमबार

पाल्पा । लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपैयाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन। सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन्।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको साँस्कृतिक डबली सञ्चालनमा प्रदेश सरकारले नै बेवास्ता गर्दा बनेको संरचना बिग्रिँदै गएको हो। डबली सञ्चालन गर्न कार्यविधि र निर्देशिका बनाउन प्रदेश सरकारको ध्यान पुगेको छैन। स्थानीय बासिन्दाले प्रदेश सरकारको बेवास्ताका कारण जनताको राजस्वबाट भएको लगानी खेर जान लागेको बताएका छन्।

तानसेन–७, कैलाश नगरका स्थानीय बासिन्दा बलबहादुर रानाले साँस्कृतिक डबली सञ्चालन गर्ने भनेको डेढ वर्ष बितिसकेको भए पनि अहिलेसम्म सञ्चालन नआएको बताए।‘कहिले नगरपालिकाले सञ्चालन गर्ने भन्ने सुनिन्छ, कहिले प्रदेश सरकारले सञ्चालन गर्ने भन्ने सुनिन्छ’, उनले भने।

बनेको डबलीभित्र झार उम्रिएका छन्। संरचनामा समेत क्षति पुगेको छ। तर लामो समयसम्म पनि प्रदेश सरकारले साँस्कृतिक डबली सञ्चालन गर्नेबारेमा निर्णय गर्न नसकेको तानसेन नगरपालिकाले जनाएको छ।

तानसेनमा साँस्कृतिक डबली बन्नु राम्रो भए पनि लामो समयसम्म सञ्चालन नहुँदा नगरपालिकामाथि पनि प्रश्न उठेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताए। तानसेन नगरपालिकाले डबली सञ्चालन गर्न दिनु भनेर प्रदेश सरकारलाई पत्र पठाए पनि त्यसको जवाफ नआएको उनले बताए।

२०७७ असारमा शुरु भएको साँस्कृतिक डबली निर्माण सम्झौताको म्यादभन्दा एक वर्ष ढिला गरी डेढ वर्षअघि सकिएको थियो। लुम्बिनी प्रदेश सरकारको लगानी छ करोड ८१ लाख रुपैयाँ लगानीमा साँस्कृतिक डबली निर्माणको भएको थियो। सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङ स्थल, बाउन्ड्री, बस्ने स्थल, हरियाली बगैँचा निर्माण गरिएको छ। तर ती संरचनामा अहिले झार उम्रिएका छन्।

यत्रतत्र फोहोर देखिन्छ। डबलीभित्र स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरको निर्माण गरिएको छ। सांस्कृतिक डबलीभित्र बसेर पाँच सय जनाले विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा साँस्कृतिक प्रस्तुति अवलोकन गर्न सक्छन्।

सांस्कृतिक डबली सञ्चालनपछि स्वदेश तथा विदेशबाट पर्यटक आवागमनमा वृद्धि हुने भनिए पनि डबली सञ्चालन नहुँदा बनेको संरचना जीर्ण बन्दै गएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए। बनेको संरचनाको संरक्षणका लागि पनि तत्कालै सांस्कृतिक डबली सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष भट्टराईले बताए।

प्रकाशित मिति : २०८० भाद्र २५ गते, सोमबार


Scroll to Top

Janata Media