भारतसँग पाकिस्तानको लज्जास्पद हार, पाकिस्तान १२८ रनमा समेटियो

जनता संवाददाता
२०८० भाद्र २६ गते, मंगलवार

काठमाडौं । एसिया कपमा भारतले पाकिस्तानलाई ठूलो रन अन्तरले पराजित गरेको छ।   वर्षाका कारण आइतबार रोकिएर सोमबार पुनः सुरु भएको खेलमा भारतले दिएको ३५७ रन पछ्याएको पाकिस्तान १२८ रनमा समेटियो ।

पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक रह्यो। त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३–२३ रन बनाए। कप्तान बाबर आजम भने १० रनमै आउट भए।

पाकिस्तानका नसिम साह र हरिस राउफले भने चोटका कारण ब्याटिङ गरेनन्। शाहीन शाह अफ्रिदी ७ रनमा नटआउट रहे। १७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले ४३ रनमा दोस्रो र ४७ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो। ११० रनमा ६ विकेट गुमाएको उसले बाँकी १८ रन बनाउँदा थप ४ विकेट गुमाउन पुग्यो।  भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए। त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १-१ विकेट लिए।

यसअघि आइतबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो। भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय पारी खेले। कोहलीले १२२ रन बनाए। कोहलीले सबैभन्दा छिटो १३ हजार रनसमेत बनाए। ओडिआइमा उनले २ सय ७८ खेमा १३ हजार रन पूरा गरेका हुन्।

त्यस्तै केएल राहुल १११ रन बनाएर नटआउट रहे। आइतबार वर्षाले खेल रोकिँदा भारत २४ दशमलव १ ओभरमा १४७र२ को अवस्थामा थियो। त्यसपछि राहुल र कोहलीले शानदार साझेदारी गर्दै पाकिस्तानविरुद्ध ऐतिहासिक चुनौती खडा गरेका हुन्।

पाकिस्तानका लागि शाहीन साह अफ्रिदी र शादाब खानले १-१ विकेट लिए। यसअघि समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाले रोकिँदा दुवै टिमले अंक बाँडेका थिए।

प्रकाशित मिति : २०८० भाद्र २६ गते, मंगलवार


Scroll to Top

Janata Media