
काठमाडौं । अस्ट्रेलियासँगको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको छ । शुक्रबार भएको खेलमा अस्ट्रेलियाले दिएको २ सय ७७ रनको लक्ष्य भारतले ४८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि शुभमन गिलले ७४, ऋतुराज गायकवाडले ७१, कप्तान केएल राहुलले अविजित ५८, सूर्यकुमार यादवले ५० र इशान किशनले १८ रन बनाए । अस्ट्रेलियाका लागि एडम जाम्पाले दुई, सन एबट र कप्तान प्याट कमिन्सले एक/एक विकेट लिए ।
त्यसअघि मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७६ रन बनायो । उसका लागि डेविड वार्नरले ५२, जोस इंग्लिशले ४५, स्टिभ स्मिथले ४१, मार्नस लाबुशेनले ३९, क्यामरुन ग्रीनले ३१, मार्कस स्टोइनिसले २९ र कप्तान प्याट कमिन्सले अविजित २१ रन बनाए ।
भारतका लागि मोहम्मद शामीले पाँच, जसप्रित बुमराह, रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिजमा घरेलु टोली भारतले १–० को अग्रता लिएको छ । भारत–अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल आइतबार हुनेछ ।