कोशी । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गरेका सांसदहरूको सनाखतलगत्तै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको घोषणा गरेका हुन् । मुख्यमन्त्रीमै दाबी गरेका माओवादी केन्द्रका इन्द्र आङ्बोले बहुमत पुर्याउन सकेनन् ।
आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित नै भएनन् । सनाखतमा बहुमत पुष्टी भएसँगै प्रदेश प्रमुखले कार्कीलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
सनाखतपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ । अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु ।’
मुख्यमन्त्री नियुक्त भएका कार्कीका लागि यो नै अन्तिम परीक्षा वा जित होइन । आफ्नो नेतृत्वमा सरकार बनेको एक महिनापछि उनले प्रदेशसभामा विश्वासको मत हासिल गर्नुपर्ने छ । कथंकदाचित उनले विश्वासको मत पाउन सकेनन् भने कोशी प्रदेश मध्यावधि चुनावमा जाने छ ।







