काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासन संस्कृति स्थापित गर्ने अभियानमा केन्द्रित रहेको बताएका छन् ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले सरकार गठन हुँदादेखि नै सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।
नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका –१६ ले आयोजना गरेको कार्यक्रममा उनले सत्तामा रहँदा जुनसुकै कर्म गरे पनि कानुनभन्दा माथि रहन्छ भन्ने संस्कृतिलाई वर्तमान सरकारले भत्काएर कानुन सबैका लागि समान छ भन्ने मान्यता स्थापित गरेको बताए ।
मन्त्री शर्माले ठुला भनिएका व्यक्तिबाट नै कानुनको उपहास भएको सन्दर्भमा वर्तमान सरकार गठन भएपछि त्यसलाई तोड्न सफल भएको बताए ।
मन्त्री शर्माले जिल्लाको विकास सन्दर्भमा चार लेन सडकखण्ड विगतमा कतै दुई लेन त कतै चार लेन भएको अवस्थामा त्यसलाई लमही–घोराही सडक खण्ड र तुलसीपुर घोराही सडक खण्ड पुनः चार लेन सडक खण्डको विस्तृत विवरण प्रतिवेदन तयार पारेर ठेक्काको तयारीमा रहेको बताए ।
उनले भारतीय एक्जिम बैकसँग भएको चार लेन सडक खण्डको सम्झौता तोडेर चार लेन सडक खण्डको नयाँ ठेक्का प्रक्रिया अघि बढाउन थालिएको जानकारी दिए । मन्त्री शर्माले चार लेन सडक खण्ड निर्माणका क्रममा विगतमै दुई लेन सडक भत्किएर जनताले सास्ती व्यहोरिरहेको अवस्थामा मर्मतका लागि पुनः ठेक्का गरेर काम अघि बढाएको बताए ।
उनले मर्मतअन्तर्गत तुलसीपुरदेखि हापुर खोलासम्मको काम अन्तिम चरणमा रहेको बताए । सञ्चारमन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन भई ठेक्का प्रक्रियामा अघिबढेको बताए । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।







