काठमाडाैँ । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा पाकिस्तानले सेमिफाइनलको संभावना कायमै राखेको छ। बिहिबार भएको समूह २ को चौंथो खेलमा दक्षिण अफ्रिकालाई ३३ रनले पराजित गर्दै पाकिस्तानले सेमिफाइनल सम्भावना कायम राख्न सफल भएको हो।
जितसँगै पाकिस्तान ४ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। पराजित दक्षिण अफ्रका ५ अंकका साथ दोस्रो स्थानमा कायम रहँदा भारत ६ अंकका साथ शीर्ष स्थानमा छ।
वर्षाका कारण डर्कवर्थ लुइस नियमका आधारमा दक्षिण अफ्रिकालाई जितका लागि १४ ओभरमा १ सय ४२ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका निर्धारित १४ ओभरमा १ सय ८ रनमा समेटिएपछि पाकिस्तानले प्रतियोगितामा दोस्रो जित निकाल्यो। टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो। उसका लागि सादव खानले विष्फोटक ब्याटिङ गरेका थिए।
खानले २२ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै इफ्तिखर अहमेदले पनि उत्कृष्ट इनिङ खेले। ३५ बलमा इफ्तिखरले ५१ रन बनाउँदै अर्धशतक पुरा गरेका थिए। थप दोहोरो स्कोरका रुपमा मोहम्मद नवाज र मोहम्मद हरिसले समान २८ रन जोडे। कप्तान बाबर अजाम र मोहम्मद रिजवान भने दक्षिण अफ्रिका विरुद्व पनि चल्न सकेनन्। दक्षिण अफ्रिकाका लागि एनरिच नोर्तेजले ४ विकेट लिएका थिए। १ सय ८६ रनको वजयी लक्ष्य लिएर मैदान उत्रिएको दक्षिण अफ्रिकाले ६९ रनमा ४ विकेट गुमाउँदा वर्षा भएपछि खेल रोकिएको थियो।
तर, वर्षा रोकिएपछि डिएल म्याथोडमा दक्षिण अफ्रिकालाई जितका लागि १४ ओभरमा १ सय ४२ रनको लक्ष्य दिएको थियो। तर दक्षिण अफ्रिका १ सय ८ रनमा समेटिएपछि पाकिस्तान ३३ रनले विजयी भयो। पाकिस्तानका लागि सहिन सा अफ्रिदीले ३ विकेट लिंदा सादव खानले २ विकेट हात पारेका थिए।