नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

जनता संवाददाता
२०८० कार्तिक १ गते, बुधबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो ।

आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ मा खुम्चिएको छ । आज दुई सय दस कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ ।

सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई दशमलव ८७ र विकास बैंक समूहको उपसूचक दुई दशमलव ७४ प्रतिशतले बढेको छ । आजको कारोबारमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ६२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको रू चार करोड ४६ लाख चार हजार नौ सय ३५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेड प्रमोटर शेयर तीन लाख दस हजार पाँच सय १५ कित्ता खरिद–बिक्री भएको छ । रासस

प्रकाशित मिति : २०८० कार्तिक १ गते, बुधबार


Scroll to Top

Janata Media