बागलुङ बस दुर्घटना: घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर, धौलागिरि अस्पताल पठाइयो

जनता संवाददाता
२०८० चैत्र ६ गते, मंगलवार

बागलुङको निसीखोला दुर्घटनामा परी घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ।

पूर्वी रुकुमदेखि काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोक मार्गमा दुर्घटना भएको थियो।

बागलुङमा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक नवबालिकासहित चार महिला रहेका छन्। मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ।

बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धौलागिरि अस्पताल बागलुङमा पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकालले जानकारी दिए।

घाइतेलाई एम्बुलेन्स तथा गाडी व्यवस्थापन गरी बागलुङ पठाएको उनको भनाइ छ। बस सडकदेखि एक सय ५० मिटर तल खसेको थियो।

प्रहरी निरीक्षक विकका अनुसार सात जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

मृत्यु हुने अधिकांश रुकुमका रहेको हुँदा घटनास्थलमै मृत्यु भएका सात जनाको शव सङ्कलन गरी रुकुम पठाइएको उनले जनाए। बाटोमा मृत्यु भएका एक जनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते, मंगलवार


Scroll to Top

Janata Media