मुगु हत्या प्रकरण – १३ दिनपछि पक्राउ परे आरोपी

जनता संवाददाता
२०८० कार्तिक २३ गते, बिहीबार

मुगु । १३ दिनपछि मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ परेका हुन्। यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ र यसबारे अनुसन्धान गरिरहेको जनाएको छ। स्रोतका अनुसार गोरखबहादुर मृतकका नातेदार पर्छन्।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका(६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए।

घटना भएको पर्सिपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका हुन्।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते, बिहीबार


Scroll to Top

Janata Media