कर्णालीमा जाग्यो युवा संघः मंसिर भित्र प्रदेशका सबै जिल्ला अधिवेशन सक्ने

जनता संवाददाता
२०८० कार्तिक १६ गते, बिहीबार

सुर्खेत । प्रदेश अधिवेशनबाट नयाँ नयाँ नेतृत्व पाएको युवा संघ नेपाल कर्णाली प्रदेशले हिमाली जिल्ला डोल्पाबाट आफू सांगठन निर्माणमा जागेको सन्देश दिदैं पहिलो पदाधिकारी बैठक सम्पन्न गरेको छ ।

गएको असोज पहिलो साता सम्पन्न प्रथम अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीको पहिलो बैठकको आयोजना गर्दै युवा संघ कर्णाली प्रदेशले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन आगामी मंसिर महिना भित्र सक्ने निर्णय गरेको संघका प्रदेश अध्यक्ष जीवन शाहीले जानकारी दिए ।

नेकपा (एमाले) कर्णाली प्रदेशका नवनिर्वाचित अध्यक्ष गुलावजंग शाह, केन्द्रीय सदस्य पदमा क्वारी, प्रदेश कमिटि सदस्य तथा कर्णाली प्रदेशका पुर्वमन्त्री नन्दसिङ बुढा, प्रदेश कमिटी सदस्य बिष्णु रोकाया, एमाले डोल्पाका सचीव लंक रोकाया, युवासंघ नेपालका उपाध्यक्ष प्रकाश गौतम लगायतका नेताहरुको उपस्थितीमा सम्पन्न बैठकले सांगठानिक तथा पार्टीका आन्तरिक काममा युवासंघलाई क्रियासिल बनाउने निर्णय गरेको छ ।

‘पार्टी केन्द्र र प्रदेशको निर्णय अनुसार हरेक स्थानीय तह र वडामा युवा संघका कमिटिहरु बिस्तार गर्ने अवधी पुगेको पालिका र वडा कमिटिका अधिवेशन आयोजना गरेर नयाँ नेतृत्व छनोट गर्ने लगायतका निर्णय संघको पहिलो पदाधिकारी बैठकले गरेको छ’ प्रदेश अध्यक्ष शाहीले भने, ‘अब कर्णाली प्रदेशका सबै जिल्ला र स्थानीय तहमा युवा संघ शसक्त रुपान लाग्ने कार्य योजना निर्माण गरेर अघि बढ्छ ।’

पदाधिकारी बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै पार्टीका प्रदेश अध्यक्ष गुलावजंग शाहले युवासंघ नेपाल एमालेको दाहिने हात भएकाले सोही अनुसारको भूमिका खेल्न निर्देशन दिए । ‘प्रदेश पार्टी मातहतका सबै जनसंगठनहरुका जिल्ला प्रदेश, जिल्ला र स्थानीय तहसम्मका अधिवेशन मार्फत नयाँ नेतृत्व छनोट गरेर सबैलाई जनसंगठनलाई चलाएमान गराउने काममा प्रदेश पार्टी एकशुत्रिय ढंगले अघि बढ्छ’, पार्टी जनसंगठन संयन्त्र कर्णालीका समन्वयकर्ता समेत रहका अध्यक्ष शाहले थपे, अब बस्ने प्रदेश कमिटिको दोस्रो बैठकले सबै जनसंगठनका इन्चार्ज तोकेपछि समन्वयको कामले थप गति लिन्छ ।’

युवा संघ डोल्पाको व्यवस्थापनमा सञ्चालन भएको बैठकमा युवा संघ नेपालका उपाध्यक्ष प्रकाश गौतम, एमाले केन्द्रीय सदस्य पदमा क्वारी, प्रदेश कमिटि सदस्य नन्दसिङ बुढा लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेको युवा संघ नेपाल कर्णाली प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते, बिहीबार


Scroll to Top

Janata Media