पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परि १८ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले यसबारे पुष्टि गरेका छन्। उनका अनुसार हालसम्म रुकुममा ११ जना र जाजरकोटमा ७ जनाको मृत्यु भएको छ।
रुकुमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार आठविसकोटमा एकै घरका ६ जना सहित १० जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको खलंगामा केही घरहरू भत्किएका छन्। जाजरकोटमा घाइतेको संख्या धेरै भएको भेरी नगर पालिकाका मेयर सीपी घर्तीले जानकारी दिए। उनले आफूहरू उद्धारमा खटिएको बताए।
भूकम्पको थप मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रबिन्दु रहेर केही समययता लगातार भूकम्प गइरहेका छन्।
शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।







